Comments Add Comment

‘नेपाली भूभाग नै फिर्ता ल्याउने तयारी छ भने नयाँ नक्सा छाप्न के भयो र ?’

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता ल्याउने प्रयास भइरहेको बताएका छन् ।

शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानीको सीमा विवादबारे बोलेका हुन् । केही समय पहिले भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफूतिर पार्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चर्किएको थियो । लगत्तै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागीहरुले भारतसँग प्रधानमन्त्रीस्तरमै संवाद गर्न र सीमा विवाद सुल्झाउन आग्रह गरेका थिए ।

तर अहिलेसम्म प्रधानमन्त्रीस्तरमा सीमा विवादबारे संवाद हुन सकेको छैन । नेपालले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने प्रस्ताव राखेपनि भारतले सहमति नदिँदा छलफल हुन सकेको छैन ।

शनिबार संसदमा प्रधानमन्त्रीको सम्वोधनपछि पुरक प्रश्न गर्दै सांसदहरुले प्रधानमन्त्रीस्तरमा वार्ता कहिले हुन्छ र संसदीय समितिको निर्देशन अनुसार लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा कहिले सार्वजनिक हुन्छ भनेर सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भूभाग नेपालले छाड्दैन । काली नदीको मुहानदेखि यता लिम्पियाधुरा, लिपुलेक र महाकाली क्षेत्र तथ्य र प्रमाणहरुले नेपालकै हो भन्ने देखाउँछ । नेपाली भूमि फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको छ ।’

‘फलानै दिनमा फिर्ता ल्याउँछौं भनेर एकतर्फी भन्ने कुरा होइन । दुई तर्फी संवाद र कुराकानीबाट फिर्ता गर्न प्रयासरत छौं ।’ नयाँ नक्सा कहिले छापिन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली भूभाग नै फिर्ता ल्याउन तयारी गरी रहेका छौं भने नक्सा छाप्न के भयो र ? तुरुन्तै छापिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment