
६ फागुन, काठमाडौं । गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध १५ लाख ९५ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गरिएको छ ।
फरक फरक समयमा विभिन्न शीर्षकमा प्रधानाध्यापक साहले उक्त रकम भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा तीन वटा मुद्दा दायर गरेको हो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्स शीर्षकको २ लाख ५० हजार र मर्मत शीर्षकको १ लाख गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ कुनैपनि काम नगरी प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ
त्यस्तै सोही कार्यालयबाट पुस्तकालय व्यवस्थापन र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार रुपैयाँ लिएर साहले कुनै काम नगरी रकम हिनामिना गरेको दाबीसहित उनीविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
त्यस्तै गरी प्रधानाध्यापक साहले विभिन्न शीर्षकमा ५ लाख ९५ हजार ४ सय रुपैयाँ गलत कागजात बनाई भ्रष्टाचार गरेको भन्दै उनीमाथि अर्को पनि मुद्दा दायर गरिएको कोइरालाले बताए ।
अख्तियारले शिक्षा विकास तथा समन्वय इकाइका सवइन्जिनियर विकास झाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्रधानाध्यपक साहसँग मिलेर झाले छात्रा शौचालय निर्माण शीर्षकमा झुटो प्रतिवेदन तथा नापी किताब तयार पारेको आरोप अख्तियारले लगाएको छ ।
अनुसन्धानको क्रममा झाले झुटो प्रतिवेदन तयार गरी ३ लाख ५० हजार रुपैयाँ हिनामिना गर्न सहयोग गरेको देखिन आएकोले उनीविरुद्ध उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए ।
प्रतिक्रिया 4