Comments Add Comment

विमानभित्र सञ्चालित संग्रहालयको कथा

क्याप्टेन वेदको वेदना : एयरक्राफ्ट म्युजियम सार्नुपर्ने भयो

१० फागुन, कैलाली । विसं. २०७१ साल असोज १ गते मुलुककै पहिलो एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याउँदै गर्दा क्याप्टेन वेद उप्रेती निकै उत्साहित थिए ।

‘संग्रहालयभित्र विमान हुन्छ । तर, मैले विमानभित्र संग्रहालय तयार गरेको छु । यो विश्वकै अनुपम हो’ त्योबेला उनले भनेका थिए ।

उप्रेतीले ६ वर्ष पहिले १ करोड २५ लाख रुपैयाँ लागतमा पुरानो जहाजको बाहिरी आवरणलाई किनेर धनगढीमा एयरक्राˆट म्युजियम बनाए । कस्मिक एयरको १०० सिट क्षमताको पुरानो जहाजलाई उप्रेतीले म्युजियम बनाएका हुन् ।

अनलाइनखबरकर्मी म्युजियममा पुग्दा उप्रेती मध्याह्नसम्म एयरक्राफ्ट परिषरमै थिए । आफैंले तयार पारेको संरचनालाई उनी एक टकले हेरिरहेका थिए ।

इन्डोनेसियाली विमान लायनका क्याप्टेन उप्रेतीको थोरै समय मात्रै धनगढीमा बित्छ । धेरै समय उनी विश्वका विभिन्न देशहरूमा हुन्छन् । गत मंगलबार धनगढी आइपुगेको मौका छोपेर पत्रकारसँग उनले सामान्य भेटघाटको माहोल तयार गरे ।

‘हजुरहरूबाट मलाई एउटा सुझाव चाहियो’ भेटको सुरुमै उनले आग्रह गरे ।

‘कस्तो सुझाव ?’

‘यो जग्गा मेरो होइन । यसको सम्झौता पनि सकिँदैछ । अब सम्झौता थपिँदैन होला’ उनी रोकिए ।

‘अनि…?’

‘एयरक्राफ्ट म्युजियम सार्नुपर्ने भयो,’ केही भावुक हुँदै उनले भने ।

हामीले साध्यौं ‘कहाँ लैजाने योजना बनाउनुभएको छ त ?’

‘मलाई धनगढीभन्दा टाढा लैजान मन छैन । तर, अरूको जग्गामा कहिलेसम्म यसरी राख्न सकिन्छ र’ उनले भने ‘धनगढीमै कहीँ राम्रो ठाउँ छ भने सल्लाह दिनुहोस् न ।’

विसं.२०२० सालमा कैलालीमा जन्मिएका उप्रेती बाल्यकालमा इञ्जिनियर बन्न चाहन्थे । तर, पछि नेपाली सेनामा जागिरे भए  । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रूपमा काम गरेका उप्रेती ०५२ मा नेकोन एयरमा लागे ।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । त्यसपछि उनी भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे ।

भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा पनि उनले आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रूपमा काम गरे । सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भयो ।

त्यसपछि उप्रेतीले इन्डोनेसियाको लायन एयरमा काम गरिरहेका छन् । ‘सात समुद्रपारि हवाईजहाजको ककपिटमा बसिरहँदा पनि जन्मथलोको याद आइरहन्थ्यो’ विगत सम्झँदै उनले भने, ‘नजरमा एयरक्राफ्ट परेपछि मेरो मनमा अचानक विश्वमै नभएको एयरक्राफ्ट म्युजियम धनगढीमा बनाउने योजना बन्यो ।’

पूर्वसांसद सुनिलकुमार भण्डारीको ७ कठ्ठा जग्गा लिजमा लिएर उनले एयरक्राफ्ट म्युजियम सुरु गरे । जग्गा बापत उप्रेतीले प्रतिमहिना ३६ हजार रुपैयाँ बुझाइरहेका छन् ।

म्युजियममा कर्मचारी पनि छन् । अहिले उनीहरूको पारिश्रमिक र जग्गाको रकम पनि तिर्न समस्या पर्न थालेको उप्रेती बताउँछन् । ‘सम्झौता सकिएको छ । अर्काको जग्गामा सधैँ राख्न पनि त सकिँदैन’ उनी भन्छन् ।

के छ एयरक्राफ्टभित्र ?

उप्रेतीले ग्राउण्डेड अवस्थामा रहेको कस्मिक एअरको फोकर १ सयलाई विमान संग्रालयका रूपमा विकास गरेका हुन् । विमान संग्रालयमा राइट दाजुभाइका पालादेखि हालसम्म विकसित गरिएका अत्याधुनिक विमानका मोडेलहरू राखिएका छन् ।

त्योसँगै विश्वमा हालसम्म निर्माण भएका करिब २ सय विमानहरूको नमुना पनि यहाँभित्र छ ।

म्युजियम परिसरभित्र कफी पसल पनि छ । त्यसभित्र सुदूरपश्चिमको कला संस्कृति झल्काउने सामग्री तथा विश्वका उत्कृष्ट गन्तव्यहरू समेत राखिएका छन् ।

विसं.२०४० मा सेकेन्ड लेफिटनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका क्याप्टेन उप्रेतीले करिब २० वर्ष नेपालको आकाशमा हवाईजहाज उडाएका थिए । फोटोग्राफी र घुम्नका सौखिन उनले देश-विदेश घुम्ने क्रममा क्यामरामा कैद गरेका फोटोहरू एयरक्राफ्टभित्रै प्रदर्शनीको व्यवस्था गरेका छन् ।

ककपिट र क्याबिनमा पाइलट र एअरहोस्ट्रेसको युनिफममा आफ्नो फोटो खिच्न सकिने व्यवस्था गरिएको छ ।

क्याप्टेन वेद उप्रेती ट्रस्टअन्तर्गत सञ्चालित एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानीको केही अंश कैलालीका क्यान्सर प्रभावित व्यक्तिको उपचार र शैक्षिक विकासमा खर्च भइरहेको छ ।

‘मेरा बुवा क्यान्सरबाटै बित्नुभयो । यस्तो अवस्था अरू कसैलाई नहोस् भनेर हामीले सहयोग गरिरेहका छौँ’ उनले भने ।

एक व्यक्तिलाई ५० हजारसम्म सहयोग गरेको उनले जानकारी दिए ।

म्युजियमको प्रवेश शुल्क सर्वसाधारणलाई सय र विद्यार्थीलाई ५० तोकिएको छ । त्यस्तै सरस्वती उप्रेती कोषबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।

एयरक्राफ्टपछि एभिएसन

धनगढीको एयरक्राल्ट म्युजियमको चर्चा सेलाउन नपाउँदै उनले काठमाडौँको सिनामङ्गलम एभिएसन संग्राहलय बनाए ।

टर्किस एयरको एयरबस-३३० लाई एभिएसन म्युजियम बनाइएको हो । यो आधुनिक र एकदमै महंगो एयरबस हो ।  नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर म्युजियम बनाएको हो ।

करिब २५ अर्ब ६४ करोड रुपैयाँ पर्ने उक्त अत्याधुनिक एयरबस जम्मा आठ महिना मात्र उडेको थियो । टर्किस विमान विसं २०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । ४४० जना यात्रु बोक्न सक्ने उक्त वाइड बडी विमानलाई उप्रेतीले सिनामंगलमा म्युजियममा परिणत गरेका हुन् । सो म्युजियम सञ्चालनका लागि करिब छ करोड बढी खर्च भएको उनी बताउँछन् ।

सिनामंगलस्थित क्यानको ८ हजार वर्गफिट जग्गामा निर्मित यो म्युजियम १० वर्षे साझेदारी अन्तर्गत सञ्चालनमा ल्याइएको हो । यो म्युजियमको छेउमा नेपालको फिस्टेल एयरको हेलिकप्टर संग्राहलय पनि छ, जहाँ बसेर आगन्तुकहरूले सेल्फी खिच्न खिच्छन् ।

सिनामंगलको उक्त एयरबसभित्र पनि धनगढीको जस्तै राइट ब्रदर्सका पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिएको छ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्र्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए ।

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने यो संग्र्रहालय अवलोकनका लागि नेपालीले ३ सय तथा विदेशीले ६ सय रुपैयाँ शुल्क तिर्छन् ।  कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले भने निःशुल्क प्रवेश अन्य विद्यार्थीलाई परिचयपत्रका साथमा आउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अर्काे म्युजियमको तयारी

एयरक्राफ्ट र एभिएसन सञ्चालनमा ल्याइसकेको उप्रेतीले कञ्चनपुरको महेन्द्रनगरमा अर्काे म्युजियम सञ्चालनको तयारी गरेको सुनाए । आगामी दुई वर्षभित्रै महेन्द्रनगर म्युजियम सञ्चालनमा आउने उनले बताए ।

महेन्द्रनगरमा बन्दै गरेको म्युजियम नेपालमै अर्काे नमुना म्युजियम हुने उनको दाबी छ । ‘डेनमार्कको कोपनहेगनमा मैले देखेको माछा र युवतीको मिश्रणजस्तै स्टाचु अफ शिद्धबाबा बनाउँदै छु’ उनले भने ‘यो नेपालकै लागि नमूना हुनेछ ।’

म्युजियमका लागि महेन्द्रनगरमा चारतले घर तयार हुँदैछ । काठमाडौँका पुरातात्विक महत्व बोकेका जस्तै घर महेन्द्रनगर बनाइँदैछ । उक्त घरको एकतला जमीनभित्र छ । ‘त्यसमा सबै कुरा उल्टो देखिने बन्छ’ उनले भने ‘त्यही हेर्न पनि हजारौं पर्यटक महेन्द्रनगर पुग्नेछन् ।’

घरको दुईतलामा थ्रीडी रहने छ । सुदूरपश्चिम प्रदेशका विभिन्न तस्बीरहरू पनि त्यहाँ राखिनेछन् । ‘म्युजियमलाई अझै आकर्षक बनाउन काठमाडौंबाट एउटा हेलिकप्टर महेन्द्रनगर ल्याउने तयारी भइरहेको छ’ उनले भने, ‘एयरक्राˆट म्युजियम पनि धनगढी भन्दा बाहिर लैजाने अवस्था आयो भने समय त्यही लैजान्छु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment