१८ फागुन, काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्यामा कामदार विजय चौधरीको संलग्नता रहेको पुष्टि गरिसकेको छ । तर, अपराधको २० दिन पुरा भइसक्दा पनि हत्याको कारण भने पत्ता लाग्न सकेको छैन ।
हत्यापछि चौधरीले डोरीको पासो लगाएर आत्महत्या गरिसकेकाले कारण पत्ता लगाउन अफ्ठ्यारो भएको ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई बताउँछन् । यद्यपि, अनुसन्धान जारी नै रहेको राई बताउँछन् ।
यसअघि २७ माघमा कार्की पत्नी मुना घरमै अर्धचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल स्टार हस्पिटल पुर्याइए चिकित्सकले मृत घोषित गरे ।
घटना भएका बेला पूर्वसचिव कार्की पशुपति दर्शनका लागि गएका थिए भने महिला कामदार मीना कोइराला कार्की दम्पत्तिका १२ वर्षीय छोरालाई स्कुल पुर्याउन गएकी थिइन् । घटना भएका बेला घरमा मुना र चौधरी मात्र थिए ।
यो पनि पढ्नुहोस आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?घर बाहिर रहेको क्लोज सर्किट (सीसी) क्यामरामा बिहान १० बजेर ८ मिनेट जाँदा मुना भान्सामा देखिएकी थिइन् । त्यसको केही वेरमा चौधरीले घाँटी अँठ्याएको देखिएको थियो । तर, भुइँमा लडिसकेपछि करिब १० मिनेटको दृश्य भने फुटेजमा देखिँदैन ।
मोबाइल परीक्षण ‘उपलब्धिविहीन’
प्रहरीले अनुसन्धानका क्रममा मुना र विजयको मोबाइल फरेन्सिक जाँचका लागि पठाएको थियो । तर, प्रहरी प्रधान कार्यालयमा रहेको डिलिटल फरेन्सिक प्रयोगशालाले पठाएको तथ्यमा अपराधको मनसाय पुष्टि हुन सक्ने कुनै आधार नभेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
प्रयोगशालाले डिलिट गरिएका फोटो, म्यासेज लगायत अन्य सामग्री निकालेको थियो । प्रहरीले घरमा कार्यरत महिला कामदार कोइराला, प्लम्बर रमेश क्षेत्री, सवारी चालक लगायतको पनि बयान लिइसकेको छ ।
यो पनि पढ्नुहोस मुनाको हत्या गरेर आधा घन्टापछि आत्महत्या गरेका थिए चौधरीलेविजयले घरमा रहेको पिर्का पहिले मुनाको टाउकोमा प्रहार गरेको प्रहरी बताउँछ । पिर्काबाट मात्रै मृत्यु हुने अवस्था नभएकाले घाँटीमा डोरी कसेको हुनसक्ने बताइएको थियो । यसलाई पुष्टि गर्ने गरी पाटन अस्पतालले पोष्टमार्टम रिपोर्ट दिइसकेको छ ।