
२९ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठाएका छन् ।
‘सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । नेपाली सेनाको इतिहासमै पहिलोपटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुशरण नगरेका हुन् ।
कान्तिपुर लेख्छ– थापाले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा संक्रमणको आशंका गरिएको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार, ओलीको पिसाबमा संक्रमण भएको आशंका चिकित्सकले गरेपछि कल्चर गर्न पठाइएको छ ।
कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।
चीनको ताक्लाकोटमा अलपत्र परेका नेपालीले उद्धार नगरेर भागेरै आउने भनेर दिएको चेतावनीलाई पनि कान्तिपुरले समेटेको छ ।
युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहेको खबर अन्नपूर्णले छापेको छ । संक्रमण भइहाले कसरी जोगिने भन्ने चिन्ता भने उनीहरूमा छाएको समाचारमा उल्लेख छ ।
निरन्तर निजी विद्यालयभित्रका बेथिति उधिनिरहेको नयाँ पत्रिकाले आज पनि यही विषयबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अभिभावकबीचको आडम्बरले महँगो विद्यालय छान्ने होडबाजी चल्ने गरेको छ ।
प्रतिक्रिया 4