Comments Add Comment

रुपन्देहीका व्यवसायी होटेललाई क्वारेन्टन बनाउन तयार

होटल क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग

२ चैत, बुटवल । रुपन्देहीका होटल व्यवसायीहरुले आफ्ना होटलहरुलाई क्वारेन्टाइन, आइसोलेसन र अस्पताल बनाउन दिने निर्णय गरेका छन् । सिद्धार्थ होटल एशोसिएसन रुपन्देहीको बोर्ड बैठकले कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारसँग मिलेर काम गर्न तयार रहेको भन्दै यस्तो निर्णय गरेको हो ।

एशोसिएसनमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टदेखि चारतारे, तीनतारे र पर्यटकस्तरीय करिब एक सय वटा स्तरीय होटलहरु आवद्ध छन् ।

सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘छिमेकी देशमा जस्तो नेपालमा रातारात हस्पिटल बनाउन सक्ने क्षमता नेपालको नहुँदा सरकारलाई आवश्यक परे हाम्रा होटलहरु आइसोलेसन, हस्पिटल र क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने निर्णय गरेका छौं ।’

यससँगै एशोसिएसनले कोरोना भाइरसका कारण होटल क्षेत्र मारमा परेकाले सरकारले तत्काल राहतका कार्यक्रम घोषणा गर्नुपर्ने मागसमेत गरेको छ । सरकारले होटल क्षेत्रका लागि विद्युत डिमाण्ड शुल्क मिनाहा, बैंक ब्याजको किस्ता बुझाउने समय थपलगायतका राहत प्याकेज घोषणा गर्नुपर्ने एशोसिएसनको माग छ ।

एशोसिएसनले विद्युत डिमाण्ड शुल्क मिनाहा, बैंक ब्याजको किस्ता बुझाउने समय कम्तीमा ६ महिना थप्न र कर चुक्ताको म्याद २०७८ असार मसान्तसम्म पुर्याउन मागसमेत गरेको छ

एशोसिएसनका अध्यक्ष श्रेष्ठले भने, ‘हामी सरकारलाई सहयोग गर्न तयार छौं, तर होटल व्यवसाय पनि संकटमा परेकाले सरकारले पनि व्यवसायीका लागि तत्काल राहतको घोषणा गर्नुपर्छ ।’

कोरोना भाइरस संक्रमणको सबैभन्दा ठूलो असर होटल व्यवसायमा परेको भन्दै एशोसिएसनले विद्युत डिमाण्ड शुल्क मिनाहा, बैंक ब्याजको किस्ता बुझाउने समय कम्तीमा ६ महिना थप्न र कर चुक्ताको म्याद २०७८ असार मसान्तसम्म पुर्याउन माग गरेको छ ।

कोरोना संक्रमणको त्रासले बाह्य र आन्तरिक पर्यटक आगमन ठप्प हुँदा घर भाडा, कामदारको तलब र बैंक ब्याजको किस्ता तिर्न सक्ने अवस्था नरहेकाले राहत घोषणा गर्न ढिला गर्न नहुने सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका सदस्य अक्रम खानले बताए ।

‘तत्काल राहत घोषणा नगर्ने हो भने होटलहरु बन्द गरेर वैकल्पिक बाटो खोज्नुपर्ने हुन्छ,’ खानले भने, ‘पर्यटन व्यवसाय डुब्न नदिन र निजी क्षेत्रलाई निरुत्साहित हुनबाट रोक्न सरकारले राहत कार्यक्रम घोषणामा ढिलाइ गर्नु हुँदैन ।’

एशोसिएसनका महासचिव रवि शर्माले कोरोना भाइरसको महामारी नेपालमा फैलिन नदिन विदेशी पर्यटक आगमनमा रोक लगाउनु स्वागतयोग्य भएको बताए । उनले कोरोना रोकथामका लागि सरकारसँग मिलेर काम गर्न निजी क्षेत्र तयार रहेको पनि बताए ।

सरकारले हालै सातवटै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा एक–एक वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment