+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतीय आईसीपीमा रोकिए इन्धन बोकेका ६९ ट्याङ्कर

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत २ गते ११:२०

२ चैत, वीरगञ्ज । भारतीय आयल निगमका प्रतिनीधिले इन्धन लिएर नेपाल भित्रिने ट्यांकरसँग बढी रकम लिएको भन्दै ढुवानी व्यवसायीले विरोध जनाएका छन् ।

उनीहरूले भारतको बरौनीबाट तेल बोकेर आएका ट्याङ्कर रक्सौलमै छाडेका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ६९ वटा ट्याङ्कर भारतीय कष्टम अगाडि रोकिएका हुन् । रोकिएका प्रतिट्यांकर २० हजार लिटर तेल छन् ।

भारतीय आयल निगमले इन्धन बोकेको ट्यांकरको भन्सार गराउन भारततर्फका एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा राखेकाहरूले जथाभावी रकम लिने गरेको गुनासो व्यवसायीहरूको छ । आईओसीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरको भन्सार क्लियरेन्स लगायत भन्सारमा आवश्यक कामका लागि मुन्सी राखेको हो । त्यस्ता मुन्सीहरु दुई दर्जनको हाराहारीमा खटिन्छन् ।

मुन्सीहरूले आफ्नो मुडअनुसार, ६ सय देखि १ हजार भारुसम्म माग्ने गरेको दाबी व्यवसायीले गरेका छन् । त्यसको रसिदसमेत उनीहरूले दिँदैनन् । अनावश्यक पैसा असुल्न थालेपछि त्यसको विरोध गर्दा व्यवसायीमाथि नै आक्रमण गर्न खोजेको व्यवसायीको भनाइ छ ।

भारतीय आयल निगमका प्रतिनिधिले अनधिकृत रूपमा उठाउने शुल्क नतिर्ने निर्णयमा आफूहरु पुगेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ, वीरगञ्जका उपाध्यक्ष विनोद मानन्धरले बताए । ‘भन्सार पास गराउने जिम्मा भारतीय आयल निगमको हो, कति लाग्ने हो ? त्यो कसले तिर्नुपर्ने हो क्लियर हुनुपर्छ नि, उनले भने, ‘उनीहरूको प्रतिनीधिको मुड अनुसार जति माग्छन् त्यति दिन कहाँ सकिन्छ ।’

कहिले डराइ, धम्काइ त कहिले चाँडै पास गराइदिन्छु भनेर प्रलोभनमा पारेर उनीहरूले मनलाग्दी रकम असुल्ने गरेको उनको भनाइ छ ।

मध्यमाञ्चल ढुवानी व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष सुदामा साह पनि अनावश्यक रकम तिरेर पेट्रोलियम पदार्थ ढुवानी गर्न नसकिने बताउँछन् । ‘नेपाल आयल निगमको तेल हो, ढुवानी गर्ने काम हाम्रो हो,’ उनले भने, ‘भारतीय भन्सार कटाउन अनावश्यक पैसा दिन सक्दैनौं ।’

भारतीय पक्षसँग वार्तामार्फत समस्या समाधानका लागि प्रयास भइरहेको व्यवसायीहरूले बताएका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?