
२ चैत, भोजपुर । जिल्ला अदालत भोजपुरले टेम्केमैयुङ गाउँपालिका-२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला सुनाएको छ ।
गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ)को कुटपिट गरी हत्या गरेको ठहर गर्दै अदालतले रमेश र भीमबहादुरलाई जन्मकैद सुनाएको हो ।
दुवैलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२) बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4