Comments Add Comment

कोरोनाको कारण ‘के घर के डेरा’को छायांकन स्थगन

चैतको दोस्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेरा’को छायांकन स्थगन भएको छ । कोरोनाको त्रासमा कारण यस चलचित्रको छायांकन स्थगन गरिएको हो ।

सरकारले २५ जना भन्दा बढि भेला नहुनु भनेर दिएको आदेशलाई स्विकार्दै चलचित्रको छायांकन रोकिएको निर्देशक सुव्रतराज आचार्यले बताए । उनले भने, ‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ । सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछौँ ।’

त्यस्तै चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकाले छायांकन स्थगित गरिएको बताउँछन् । आफू रहे चलचित्र त पछि पनि बनाउन सकिने उनको भनाई छ ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतको अभिनय रहनेछ । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथालाई प्रस्तुत गर्ने यस चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले तयार पारेका हुन् ।

‘शुभ लाभ फिल्मस्’ र ‘ए प्लस इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुने चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जनको लगानी रहने छ । चलचित्रमा यम प्रसाद ओली सह-निर्माताको रुपमा रहेका छन् । दीर्घ गुरुङले खिच्ने चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment