+
+

प्रदेश ५ का तीन ठाउँमा कोरोना परीक्षण प्रयोगशाला बन्दै

भैरहवामा एक हप्ता भित्रै सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १३:३७

१८ चैत, बुटवल । प्रदेश ५ का तीन स्थानमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने प्रयोगशाला बन्ने भएका छन् । रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोभिड-१९ जाँच गर्ने प्रयोगशाला बन्न थालेका हुन् ।

तीनवटा प्रयोगशालामध्ये भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसरभित्रको बीउबिजन कार्यालयमा स्थापना भइरहेको प्रयोगशाला संघीय सरकारको बजेटमा बन्न लागेको हो । दाङ र नेपालगञ्जका प्रयोगशाला भने प्रदेश सरकारको बजेटमा बन्ने छन्।

भैरहवाको प्रयोगशालामा आवश्यक उपकरणहरु केही आइसकेको र केही ल्याउने क्रममा रहेकाले एक साताभित्र सञ्चालनमा आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले बताए । ‘जीवाणुहरु कोठाभित्र फैलिन नदिने बायोसेफ्टी क्याबिनेट आइसक्यो, पोर्टेबल पीसीआर र रियल टाइम पीसीआर, परीक्षण किट, रिएजेन्ट (रसायन) पनि बुधबार आउँदैछन्,’ निर्देशक गिरीले भने, ‘बढीमा एक हप्ता र छिटोमा पाँच दिनभित्रै कोरोनाको जाँच यहीँबाट हुन्छ ।’

प्रयोगशाला सञ्चालनबारे सिकाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तीन जना विज्ञ पनि आउने उनले बताए । प्रदेशभित्र कोरोनाको जाँच गर्ने प्रयोगशाला नहुँदा आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता छ ।

कोभिड-१९ को नमुना परीक्षण मात्र गर्नेगरी स्थापना हुन लागेको प्रयोगशालालाई भविष्यमा प्रदेशस्तरको बीएसएल लेभल-२ स्तरको बनाउन सकिने उनले बताए । यो सँगै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना प्रयोगशाला स्थापनाको काम अघि बढेको डा. गिरीले बताए । ‘तीन ठाउँमै प्रयोगशाला स्थापनाको काम अघि बढेपनि भैरहवाको प्रयोगशाला पहिला सञ्चालनमा आउँछ,’ उनले भने, ‘प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना संक्रमित बिरामीले छिटो उपचार पाउनेछन् ।’

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले भैरहवामा बन्दै गरेको प्रयोगशाला प्रदेश स्तरीय प्रयोगशाला हुने बताए । भविष्यमा यसले १२ वटै जिल्लाका सरकारी र निजी क्षेत्रका प्रयोगशालाहरुको गुणस्तरको अनुगमन र स्तरवृद्धि लगायतका काम गर्नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?