
२६ चैत, काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।
शंकर ग्रुपका सञ्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक बयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।
उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्युरोडबाट किनेको बताएका छन् ।
उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।
उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई बिगो जफत र बिगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने सुरक्षा स्रोतले बतायो ।
यो पनि पढ्नुस्
कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !
लाखको लोभले हिरासत पुगे अर्बपति अग्रवाल
प्रतिक्रिया 4