Comments Add Comment

आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकारवालासँग छलफल 

११ वैशाख, काठमाडौं ।  काठमाडौँ महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालहरूसँग छलफल गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अगुवाइमा भएको छलफमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सहसचिव राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थिति रहेको थियो ।

बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले महानगर क्षेत्र भित्रको आपूर्ति व्यवस्थामा एकरुपता ल्याउनेलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्ने विषयमा बढी जोड दिएका छौँ,’ प्रमुख शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैँ किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनु पर्ने अवस्था छ । यो विषयमा पनि हामीले गम्भीर भएर छलफल गरेका छौँ । हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौँ ।’

छलफलका क्रममा प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट मात्रै ६२ हजार सात सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार पाँच सय १७ जनालाई खाना खुवाएको जानकारी दिए । ‘काठमाडौँ महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरू आइरहेका छन् । खानाकै समस्या भएर गाउँ फर्किनुपर्ने अवस्था आउन दिँदैनौँ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ । कोही बाध्य छ भने हामी अहिले पनि उहाँहरूलाई खाद्यान्नको व्यवस्था गर्न तयार छौँ ।’

प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका आठ सय ५६ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह पनि गरे । महानगरपालिका क्षेत्रभित्रका पसललाई कहिले वडाले खोल भन्ने प्रहरीले बन्द गर्ने वा वडाबाट नखोल्नु भन्ने प्रहरीले खोल्नु भन्ने अवस्था हुँदा थप समस्या हुने भन्दै समन्वय गरेर मात्रै अघि बढ्नु पर्नेमा जोड दिए ।

लकडाउनको अवधिमा पनि लकडाउनको पूर्णतयाः पालना गर्दै  व्यवसायीहरूले सकारात्मक भूमिका खेलेको भन्दै प्रमुख शाक्यले धन्यवाद दिए।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवस्था अनुसार उत्पादन क्षेत्रमा लागेकाहरूलाई सरकारको निर्णयलाई बाधा नपुग्ने गरी सहजीकरण गरेको गरेको बताए । उनले कोरोना संक्रमणको शंका लागे तत्काल परीक्षण गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै भित्रका कामहरूलाई र व्यापार-व्यवसायलाई सम्भव भएसम्म सहज बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पादित वस्तुहरू बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा खोजी गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि श्रमिकहरूलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

खुद्रा व्यापार संघका अध्यक्षलगायतले पनि लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई बिस्तारै चलायमान बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरूले नियमित अनुगमनलाई पनि निरन्तरता दिनुपर्नेमा उनीहरूको जोड थियो ।

छलफलमा व्यवसायीहरूले आपूर्ति व्यवस्थालाई केही चलायमान बनाउन लकडाउन अवधिभरी बिहान १० बजेसम्म पसल खोल्ने वातावरण बन्नुपर्नेलगायतका माग राखेका थिए । व्यवसायीहरूको मागलाई ध्यानमा राख्दै पसलमा बढी भिडभाड नगरी खाद्यान्न र आवश्यक सामग्री किनमेल गर्न सहज बनाउने विषयमा महानगरपालिका र प्रशासन पनि सकारात्मक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment