
१२ वैशाख, जनकपुरधाम । अब प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणका नमूना पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ ।
परीक्षणका क्रममा सर्लाहीका बालकको नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय किशोर गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरियो । तर उनै किशोरको स्वाब काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । त्यसैले मेसिनमै समस्या पो हो कि भन्ने आशंका गरिएको छ ।
‘यहाँ नेगेटिभ देखिने अनि काठमाडौं पठाउँदा पोजेटिभ आउने भएपछि यहाँ गरिएको परीक्षण पुनः परीक्षण गर्न काठमाडौं पठाइने भएको छ,’ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामबिनय साहले भने, ‘यहाँ भएको जाँच र काठमाडौंमा हुने जाँचले मेसिन ठीक रहे/नरहेको थाहा लाग्छ ।’
जनकपुरधाममा गत चैत २१ गतेदेखि पीसीआर मेसिन स्थापना भई परीक्षण सुरु भएको थियो । यो मेसिनबाट बिहीबारसम्म सय वटा स्वाब परीक्षण भइसकेको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा मात्रै पीसीआर मेसिन छ । यो मेसिनबाट दैनिक १० वटासम्म स्वाब परीक्षण भइरहेको छ । ठूलो पीसीआरको मेसिन वीरगंजको नारायणी अस्पताललाई दिइए पनि चाहिने अन्य आवश्यक उपकरणहरु उपलब्ध नहुँदा यो मेसिन थन्किएको छ ।
प्रदेश सरकारले राजविराज समेतका लागि पीसीआर मेसिन खरीद गर्ने बताउँदै आए पनि अहिलेसम्म खरीद गरिएको छैन ।
प्रतिक्रिया 4