१४ वैशाख, बुटवल । कोभिड–१९ संक्रमणको जोखिम मूल्यांकन गरी निश्चित क्षेत्रहरुमा लकडाउन खुल्ला गर्न र मनोमानी गरिएको मूल्यवृद्धि रोक्न उपभोक्ता संरक्षण मञ्च प्रदेश ५ ले माग गरेको छ ।
लकडाउनसँगै नागरिकका आम्दानीका स्रोतहरु बन्द हुँदा जीवनयापनमा समस्या आएकाले व्यवहारिक रुपमा लचक र निश्चित क्षेत्र खुल्ला गर्न मञ्चले माग गरेको छ ।
मञ्चका प्रदेश अध्यक्ष तेजकुमार पाठकले, लकडाउनको मौका छोपेर विशेष गरी मास्क, पन्जा, सेनिटाइजर, थर्मल गन, खाद्य पदार्थलगायतको मूल्य मनोमानी बढाइएको भन्दै कडा अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरे ।
पाठकले जारी गरेको विज्ञप्तिमा राहत वितरणमा धेरै ठाउँमा नागरिकता प्रमाण पत्रलाई अनिवार्य गरेका कारण पीडितले राहत नपाएको पनि उल्लेख छ ।
नगद अभावमा नागरिकको जीवन कष्टकर भएकाले सामाजिक दुरीलाई कायम गर्दै बैंकहरुले घरदैलो कार्यक्रम गरेर भए पनि ग्राहकहरुको माग पूरा गर्नु पर्ने मञ्चका सदस्य ऋषि आजादको भनाइ छ ।