+
+

अब नेपालमा चट्याङ पर्ने क्षेत्र र समयको पनि पूर्वानुमान हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १७:२४

२३ वैशाख, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब मौसमको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षायामदेखि नै चट्याङको पूर्वामानुमान गर्नेगरी भइरहेको जानकारी दिए । विभागले यसअघि वर्षात्, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ।

समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए ।

‘चट्याङबाट हरेक वर्ष एक सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’

उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।

सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समयपछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए ।

‘अरू देशहरूमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ।’ उनले नेपालको चुरे रेन्ज चट्याङको बढी जोखिममा रहेको उल्लेख गरे ।

तयारी सकिएपछि विभागले तीन घण्टा अगावै चट्याङ पर्ने स्थान र समय सार्वजनिक गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?