
तीन महिना पहिले बाबु गुमाएका मिनहाज खान अहिले रमजान (व्रत) मा छन् । बाबाको निधनसँगै मिनहाजको साहारा ढल्यो । तर, मुस्लिम धर्मअनुसार तीन दिनभन्दा बढी दुःख मनाउनु समेत पाप हो । मिनहाज भन्छन्, ‘बाबाको कामलाई निरन्तरता दिनु चाहिँ धर्म हो ।’
मिनहाजका बाबा समिम खान व्यवसायी थिए । उनले मिनहाज (३८) नजन्मिँदै ढाका र गार्मेन्टमा ब्लक प्रिन्ट गर्थे । पछि गार्मेन्ट फ्याक्ट्री नै खोले । मिनहाज त्यस्तै, पाँच–छ वर्षको हुँदा नेपालमा निकै ठूलो बाढी आएको धुमिल सम्झना छ उनलाई । त्यो समय उनका बाबाले सहयोग गरेर गार्मेन्टको गोदाम नै रित्याइदिएका थिए । बाबाले मिनहाजलाई भन्थे, ‘यी सब सहयोग माथि गएपछिको लागि हो ।’ हो, कसैले नाफा खोज्न थाल्यो भने त्यो सहयोग नभएर सहयोगजस्तै देखिने व्यापार हुन्छ ।
महामारीको रुप लिएको कोभिड–१९ ले निम्ताएको परिस्थिति आज हाम्रोसामु छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कतिपय नागरिक गाँसविहीन बस्नुपरेको छ । तर, यस्तो परिस्थिति केही भए पनि कम होस् भनेर ठिक १२ बजे मिनहाज ठमेलको सातघुम्ती चोकमा हाजिर छन् । यसरी निस्किएको यो ४२ औं दिन हो । अरू दिनभन्दा फरक यो दिन बर्खायामको आभास दिनेगरी झरी बर्सिएको छ । मिनहाज पीपीई लगाएर आफ्नो रेस्टुरेन्ट ‘कफी विथ मेन्ज’को सटरनिर भेज विर्यानी लिने मानिसको पर्खाइमा छन् । लकडाउन हुँदैन थियो भने उनी यतिबेला कफी पिउने ग्राहकको प्रतीक्षामा हुने थिए ।
मिनहाज उभिएको छेउको ब्ल्याक बोर्डमा लेखिएको छ, ‘फ्रि फुड फर डोज हु आर इन निड (आवश्यक परेकाहरूलाई निःशुल्क खाना) ।’ ‘बाबाको कमी महसुस नहोस् भनेरै मैले यी सब गरिरहेको छु’, उभिइरहेका मिनहाज बोल्दै सोफामा बस्छन् ।
लकडाउनको अर्को दिनदेखि मिनहाजले श्रमिक र भोका मान्छेहरूलाई सम्झिए । खै ! किन हो, उनीहरूको यादले मिनहाजको मनलाई बेचैन बनायो । त्यसपछि चैनको सास फेर्न उनी भेज बिर्यानीको प्याकेट बोकेर सडकमा निस्किए । मिनहाज सुरुवाती दिन सम्झन्छन्, ‘म सडक बालबालिका र मजदुरहरूसँग नजिक छु । मैले खाइरहँदा उनीहरूले चाहिँ खान पाएकी पाएनन् होला ? फेरि उनीहरूलाई काँचो चामल र दाल दिनुभन्दा त पकाएर खान दिनु ठिक होला नि ! मेरो दिमाग यही कुरा आयो ।’
झरीमा रुझ्दै एक जना अधबैंसे रित्तो रिक्साको पाउदानी ठेल्दै मिनहाज छेउ आइपुगे । अनि रुझेको हातले एउटा भेज विर्यानी समाए र पाउदानी हाने । फेरि मजदुर आए । बालबालिका आए । महिला आए । बैशाखी टेक्दै अपांगता भएकाहरू आए । सबैलाई मिनहाजले भ्यानबाट विर्यानी झिक्दै हातमा थमाउँदै पठाए । फेरि आए, खैरो कापाल र दाह्री भएका युवा मुखमा कालो मास्कधारी युवा ।
इटालीका पर्यटक फावियो कारोनाका कारण दुई महिनादेखि नेपालमै बन्दी भएका छन् । उद्धारका लागि उनको सरकारले कुनै विमान पठाएको छैन । ‘होटलमा बसिरहेको छु । चाँडै लकडाउन खुल्ला भन्ने आशाले तड्पिरहेछु’, फावियोले मुख खोले । तर, होटेलमा खाना त पाक्दैन । मिनहाजकै विर्र्यानीले दिन घचेटिरहेका छन् फावियो ।
पहिले–पहिले ७०/८० जना विदेशीले नियमित यहीँ खाना खान्थे । बढीजसो युरोपेली र थाइल्याण्डका थिए ।’ तर, उनीहरूको सरकारले बैंकक र युरोपमा फसेका मानिसलाई उद्धार गरेपछि अहिले उनीकहाँ नियमित खाने १०/१२ जना मात्र पर्यटक छन् ।
सुरुमा दिनमा मिनहाज ५० प्याकेट भेज विर्यानी लिएर उपस्थित भएका थिए । तर, त्यो त छिनमै सकियो । त्यसपछि उनले दुई सयवटा प्याकेट बनाउन थाले । मिनहाजले रेस्टुरेन्टका कर्मचारीलाई बिदा दिएका छन् । त्यसले उनको परिवार मिलेर बिहानैबाट बिर्यानी तयार पार्छन् ।
०००
झरी रोकिएको थिएन । मात्रा भने कम भएको थियो । त्यही समय अर्का दुई विदेशी गाडीछेउ आइपुगे । हातमा एक/एक वटा बिर्यानीको प्याकेट बोके । तीमध्येका एक थिए स्वीडेनबाट नेपाल घुम्न आएका पर्यटक ।
साढे दुई महिनापहिले नेपाल आएका उनी अहिले बाध्यतावश नेपालमै छन् । भन्छन्, ‘बाहिर केही खुलिरहेको छैन । भिसा पनि सकिइसक्यो । दूतावास र लकडाउन खुल्ने दिन कुरेर बसेको छु ।’ २० अप्रिलमै उनको भिसा सकिएको हो । भारतीय साथीसँग होटेलमै बसिरहेका उनले १५ दिनदेखि नियमित मिनहाजको बिर्यानीले पेट भरेका छन् । थप भन्छन्, ‘राम्रो र सित्तैमा खाना पाइरहेकाले सहज भएको छ । किनकि बाहिर किन्नको लागि पसलहरू नै छैनन् ।’ लकडाउनले उनको जीवनलाई जस्तै पोखरा घुम्ने योजनालाई पनि बन्धक बनाएको छ ।
दिउँसोको दुई बज्न आँटिसक्यो । मिनहाजले भने यतिबेलासम्म पनि केही खाएका छैनन् । किनकि रमजान मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना हो । घाम डाँडामुनि डुबुल्की मारेपछि मिनहाजले अल्लाहको नाममा नमाज पढ्छन् र खाना लिन्छन् । उनले नाफा लिएर गर्ने व्यवसाय अहिले बन्द छ र पनि उनलाई अहिले औसतभन्दा दुई गाँस बढी भात रुच्छ । ‘मानिसहरू आशीर्वाद दिन्छन् । ढाड थपथपाएर भन्छन् ‘तेरो गोजी कहिल्यै खाली नहोस्, सधैं सहयोग गर्न पुगिरहोस्’, मिनहाजले सन्तुष्टिको सास फेर्छन्, ‘आनन्द आउँछ । चैनको निद्रा लाग्छ । भोलि भाइरस लागेर मरिहालेँ भने पनि त्यो थुपारेको पैसाले केही गर्ने होइन ।’
बिस्तारै झरी बन्द भएर घामका रेखा देखा पार्न थाले । मिनहाजको अँध्यारिएको रेस्टुरेन्टमा उज्यालो पस्यो । त्यहाँ अस्त–व्यस्तरुपमा प्याकेजिङ गरिएका पीपीई र असरल्ल कपडाका मास्क थिए । ती पीपीई पनि उनले बिक्रीका लागि राखेका होइनन् । उनी गौरवसाथ भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, स्वास्थ्य संस्थालाई १३ सयभन्दा बढी पीपीई वितरण गरिसकेँ ।’ मिनहाजले आफ्नै गार्मेन्ट फ्याक्ट्रीमा लकडाउनको एक हप्तामै सयौं पीपीई उत्पादन गरेका थिए ।
त्यहीबेला काठमाडौं ३० का वडा सदस्य पीपीई लिनका लागि वडाको सिफारिस लिएर आइपुगे । मिनहाजले आफूसँग संकलन गरिएका आवेदनका गद्दी निकाले र वडाको सिफारिसलाई पनि त्यहीँ राखे । त्यो गद्दीमा वायु सेवा सञ्चालक संघ, नेपाल अर्थोपेडिक अस्पताल, लायन्स क्लब इन्टरनेसनल, मध्यपुर ठिमी नगरपालिका, युवा अपांग संगठन, वीपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश, नेपाल विद्यार्थी संघ, नेपाल पत्रकार महासंघ, विश्व हिन्दु महासंघलगायतका डेढ दर्जन पत्र थिए । मिनहाज अगाडि बोल्छन्, ‘करिब ३० लाख रुपैयाँ बराबरको पीपीई वितरण गरिसकेको छु ।’ उनले वितरण गरेको पीपीईमा लेखिएको छ— मिन्ज फाउन्डेसन ।
मिन्ज फाउन्डेसन पनि यही लकडाउनको उपज हो । केही दिन उनले आफ्नै खाना खुवाउने र पीपीई वितरण गर्न थालेपछि साथीहरूबाट उनका साथीहरूले सहयोग र सुझाव दिन थाले । २५ दिन आफ्नै खर्चमा खुवाउन थालेपछि उनको गोजी पनि रित्तिँदै गएको थियो । त्यसपछि देश तथा विदेशमा भएका साथीहरूले उनलाई खाद्यान्न र आर्थिक रकम उपलब्ध गराउन थाले ।
साथीहरूकै सुझावअनुसार मिनहाजले लामो यात्राका लागि फाउन्डेसनको सुरुवात गरे । फाउन्डेसन सुरु गर्दा मिनहाजले आफ्नो बाबाको अनुहार झल्झली सम्झिएका थिए । कहिलेकाँही उनका बाबालाई ब्ल्याकमेलिङ गरेर पैसा लिएकाहरूका बारेमा भन्थे, ‘चिन्ता गर्नुपर्दैन । उसको पाप उसँगै जाने हो, मेरो पुण्य मसँगै जाने हो ।’
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4