
११ जेठ, काठमाडौं । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।
तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
नेपाल र दक्षिण एसियाभरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।
प्रतिक्रिया 4