+
+

पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायी प्रदर्शनमा उत्रिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १५:३८

२० जेठ, काठमाडौं । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् ।

पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएका थियौं, अहिले छाडिसकेका छौं ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको छ ।

नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताए । ‘हामीले पनि यसमा केही गर्न सक्ने अवस्था छैन, केन्द्रबाटै नयाँ निर्णयको पर्खाइमा छौं’, उनले अनलाइनखबरसँग भने ।

अहिले नगरपालिकाका अधिकारीहरुले प्रदर्शनरत पक्षलाई सरकारले छिट्टै नयाँ निर्णय ल्याउने बताएर थुम्थुम्याउने प्रयास गरेका छन् ।

अन्य क्षेत्रका व्यवसायीले गुहार्न थाले प्रशासन

जोरपाटीमा मात्र होइन, उपत्यकाका विभिन्न क्षेत्रका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रशासन गुहार्न थालेका छन् । उनीहरुले नजिकैको प्रहरी कार्यालयमा गएर लिखित निवेदन पनि बुझाएका छन् ।

यद्यपि, यस विषयमा निर्णय गर्ने अधिकार प्राप्त निकाय प्रहरी होइन ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘बौद्ध, जोरपाटी, असनलगायतका क्षेत्रबाट डेलिगेसन आएको छ, हामीले प्रशासन कार्यालय जान सुझाएका छौं ।’ लकडाउन बढ्दै जाँदा सर्वसाधारणबाट गुनासो आउने क्रम पनि बढेको उनी बताउँछन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ ।

सरकारले भने लकडाउनलाई ३२ जेठसम्म बढाउने निर्णय गरिसकेको छ । यद्यपि, सरकारले निर्णयलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?