+
+

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते २१:५२

२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । भीमेश्वर नगरपालिका–२ का उनी भारतीय पूर्व सैनिक हुन् र मधुमेहका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले ब्रेन ह्यामरेजको आशंका गरे, तर सीटी स्क्यानलगायतका सुविधा नभएकाले काठमाडौं रिफर गरियो ।

१३ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको अपरेसन गरिएको थियो । १५ गते उनको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिजल्ट पोजेटिभ आयो ।

त्यसपछि उनलाई लेभल थ्रीको त्रिवि शिक्षण अस्पतालको कोरोना विशेष अस्पतालको आईसीयूमा लगिएको थियो । र, उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

परिवारका सबैको नेगेटिभ

उनलाई कोरोना संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य, दोलखा अस्पतालमा उनको उपचारमा सलग्न स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक गरी २५ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

‘हामीले क्लोज कन्ट्याकमा आएकाहरुको परीक्षण गरेका थियौं’ दोलखाका स्वास्थ्य प्रमुख विभु झा भन्छन्, ‘सबैको रिपोर्ट नेगेभिट आएपछि सेकेण्ड लेयरमा गएनौं ।’

अहिले केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीमा नै कोरोना संक्रमण भएको पाइएको छ । र, इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको टोलीले त्यहाँका १०० भन्दा बढीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

उनीहरुको रिपोर्टका आधारमा कोरोना संक्रमणको स्रोत पत्ता लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?