Comments Add Comment

रौतहटका क्वारेन्टिन भरिए

२१ जेठ, रौतहट । रौतहटमा मंगलबार मात्र ७४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिए । यससँगै कुल संक्रमितको संख्या ३०७ पुगेको छ ।

उनीहरूमध्ये आधा पछिल्लो तीन दिनमै पहिचान भएका कोरोना संक्रमित हुन् । अझै ८ हजार बढी परीक्षणको पर्खाइमा छन् । स्थानीय तहहरूले बनाएको पाँच दर्जनभन्दा बढी क्वारेन्टिनमा भारतबाट फर्किएकाहरू आठ हजार दुई सय ३२ जना छन् ।

सबभन्दा बढी राजपुर र ईशनाथ नगरपालिकाको क्वारेन्टिनमा छन् । संक्रमित पनि त्यहीँ धेरै भेटिएका छन् । अहिलेसम्म भएको परीक्षणमा राजपुरका १०४ र इशनाथ नगरपालिकाका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किने क्रम पनि रोकिएको छैन । ‘हाम्रो १९ वटा क्वारेन्टिनमा २९ सयभन्दा बढी छन्’ राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भने, ‘क्वारेन्टिनमा मान्छे थपिने हो भने व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’

क्वारेन्टिनमा बसेकाहरूलाई सुत्ने व्यवस्था गर्न समेत हम्मेहम्मे भएको उनले सुनाए । राजपुरको बैरिया–९ मा रहेको एउटै क्वारेन्टिनमा ५ सयभन्दा बढी छन् । त्यहाँ सरसफाइमा समेत समस्या भएको छ ।

वृन्दावन नगरपालिकाका मेयर राम स्नेही राय यादव पनि भारतबाट घर फर्किएकाहरूलाई क्वारेन्टिनमा राख्न र आवश्यक सेवा दिन कठिन हुन थालेको बताउँछन् । ‘सरसफाईदेखि खाजाखाना व्यवस्थापनकै आर्थिक भार थेग्न निकै गाह्रो छ’ उनले भने, ‘अझै भारतबाट कति आउने हुन् भन्ने कुनै ठेगान छैन ।’

इशनाथ नगरपालिकाको क्वारेन्टिनमा ठाउँ अभाव भएको छ । ‘हामीले २६ वटा क्वारेन्टिन सञ्चालन गरेका छौं । तीन हजारभन्दा बढीलाई राखेका छौं’ मेयर सन्तोष मेहेताले अनलाइनखबरसँग भने, ‘एक जनालाई ५ सय मात्र खर्च गर्ने हो भने दैनिक १५ लाख चाहिन्छ । यो खर्च नगरपालिकाले कसरी धान्ने ?’

सरकारले परीक्षणलाई तीव्रता नदिँदा पनि क्वारेन्टिन अवधि लम्बिएको र व्यवस्थापन गाह्रो भएको उनले सुनाए । ‘स्वाब संकलन गरेको दुई सातासम्म नतिजा आउँदैन । कोही संक्रमित रहेछ भने पनि अरूलाई सजिलै सर्छ’ उनले भने भने, ‘पछिल्लो समय संक्रमित बढनुको कारण परिक्षणको नतिजा ढिलाई पनि हो ।’

क्वारेन्टिनमा भएकाहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा पनि नतिजा आउन ५/६ दिन लाग्ने गरेको छ । परीक्षणको नतिजा समयमै आएको भए नेगेटिभ आएकाहरूलाई घर फर्काएर चाप कम गर्न सकिने उनले सुनाए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले भने संक्रमण बढे पनि भीटीएम किट नहुँदा स्वाब संकलनको काममा तीव्रता दिन नसकेको जनाएको छ । प्रदेश तथा केन्द्र सरकारले भीटीएम उपलब्ध नगराएपछि राजपुर र परोहा नगरपालिका आफैँले खरिद पनि गरेका थिए ।

तर पठाएको नमुनाको रिपोर्ट आउन ढिलाइ भएको छ । रौतहटका मात्र १६८५ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment