Comments Add Comment

कर मिनाहाको माग गर्दै वीरगञ्जमा जसपाको प्रदर्शन

२३ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले कर मिनाहाको माग गर्दै वीरगञ्जमा शुक्रबार प्रदर्शन गरेको छ । अहिलेको अवस्थामा जनताले कर तिर्न नसक्ने भन्दै जसपा वीरगञ्ज महानगर समितिले प्रदर्शन गरेको हो ।

घर भाडा, स्कुल फिस, बिजुलीको महसुल, पानीको शुल्कमा छुट दिनुपर्नेमा उल्टै ७ गतेसम्म कर तिर्नु भनेर ताकेता गर्नु गलत भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

महानगर कमिटि अध्यक्ष लियाकत अलीले भने, ‘लकडाउनका कारण सर्वसाधरण घरमै थुनिएर बसेका छन् । तीन महिनादेखि कोरोना महामारीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा नागरिकले कसरी कर तिर्ने ? त्यसैले सबै कर मिनाहा गर्नुपर्छ ।’

घर भाडा, स्कुल फिस, बिजुलीको महशुल, पानीको शुल्कमा छुट दिनुपर्नेमा उल्टै ७ गतेसम्म कर तिर्नु भनेर ताकेता गर्नु गलत भएको तर्क उनीहरुको छ ।

प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाइँदैन, बिजुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगञ्ज बजार परिक्रमा गरेका थिए । विर्ताबाट सुरु भएको विरोध र्‍याली घण्टाघर चोकमा आएर सभामा परिणत भएको थियो । सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रने अलीले बताए ।

र्‍यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा आम सर्वसाधरण जनता बिहान खाए बेलुका के खाने भन्ने सम्मको अवस्थामा पुगेको र व्यवसायीहरु पनि आर्थिक संकटका कारण कलकारखानाको साँचो सरकारलाई बुझाउने स्थितिमा पुगेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment