Comments Add Comment

संक्रमितसँगै पाकिस्तानमा बढिरहेका हल्ला, डर र मृतक

२३ जेठ, काठमाडौं । केही समयअघिसम्म पाकिस्तानमा कोरोना महामारीले कतिसम्म भयावह रुप लिन्छ भन्नेमा धेरैले चिन्ता लिने गर्थे । तर अहिलेसम्मको तथ्यांकले भने अहिलेसम्म पहिले आकलन गरिएजस्तो चिन्ताजनक अवस्था देखिएको छैन ।

यसअघि पाकिस्तानका डाक्टरहरूले नै मुलुकको कमजोर स्वास्थ्य प्रणालीको विषयमा आवाज उठाएका थिए । उनीहरूले केही समयमा नै कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई अहिलेको स्वास्थ्य प्रणालीले धान्न नसक्ने चेतावनी दिएका थिए । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनुको संख्या दुई हजारभन्दा कम छ ।

यद्यपि पछिल्लो समय बढ्दो क्रममा रहेको नयाँ संक्रमितको संख्याले भने पाकिस्तानबारे चिन्ता बढाएको छ । एकै दिन मृत्यु हुने र संक्रमितको संख्या अझै पनि उत्कर्षमा पुगेको छैन । लकडाउन भने हटाइसकिएको छ । डाक्टरहरूले अहिले मुलुकमा रहेका आईसीयू लगभग सबै भरिइसकेको बताएका छन् ।

पाकिस्तानको एक करोड ५० लाख मानिसको बसोबास रहेको कराँची सहरमा अहिले थोरै संख्यामा मात्रै आईसीयू खाली छन् । लाहोरमा अहिले भेन्टिलेटरमा राख्ने बिरामीलाई निकै टाढाको अस्पतालमा पठाउन थालिएको छ भने पेसावर र क्वेटाको स्वास्थ्य प्रणालीले पनि सोही किसिमको दबाबको सामना गरिरहेका छन् ।

पाकिस्तानका अधिकारीहरू भने केही अस्पतालमा अहिले बिरामी भरिभराउ रहेको भए पनि अझै पनि समग्रमा धेरै बेडहरू खाली रहेको बताउँछन् । अहिले कराँचीमा पनि नयाँ अस्पताल निर्माण भइरहेको अधिकारीहरूले बताएका छन् ।

यद्यपि डाक्टरहरूले भने गम्भीर लक्षण देखिएका बिरामीको संख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै, बिरामीलाई उपचार गर्ने आफूहरूको प्रयासमा पनि पाकिस्तानभर फैलिरहेको अफवाहरू र अविश्वासले अवरोध सिर्जना गरिरहेको उनीहरूको भनाइ छ ।

‘धेरै बिरामीहरू घरमा नै बस्ने प्रयास गर्छन् । अवस्था खराब भएपछि मात्र उनीहरू अस्पताल आउँछन्’, क्वेटाका एक वरिष्ठ डाक्टरले बताए । जसको कारण धेरै मानिसको मृत्यु अस्पताल आइपुग्नेबित्तिकै र एम्बुलेन्समै मृत्यु हुने गरेको उनको भनाइ छ । ‘उनीहरूले हामीलाई बचाउने प्रयास गर्ने र उपचार गर्ने मौका पनि दिँदैनन्’ उनले गुनासो गरे ।

पाकिस्तानको स्वास्थ्य सेवा र क्वारेन्टिनको विषयमा पनि त्यहाँ व्यापक मात्रामा अफवाहहरू फैलिएका छन् । जसमध्ये डाक्टरहरूलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पैसा दिएर कोरोना भाइरसबाट संक्रमित भएको घोषणा गर्न लगाएको हो भन्नेसम्मका हल्लाहरू छन् ।

कराँचीका अर्का एक डाक्टर आफ्नो साथीले भनेको कुरा सम्झिन्छन् । उनले हालै आफ्ना साथीसँग सम्पर्क गर्दा उनले भनेका थिए, ‘मेरो छोरालाई रुघाखोकी र ज्वरो आएको छ तर म उसलाई अस्पताल लैजान्न किनकि डाक्टरहरूले ज्वरो आएका सबैलाई कोभिड–१९ घोषणा गर्ने गर्छन् र एउटा संक्रमितको पाँच सय रुपैयाँ लिन्छन् ।’

यस किसिमका अफवाहहरू हास्यास्पद लाग्छ । तर यस्ता अफवाहले निकै ठूलो दुर्घटना निम्त्याउन पनि सक्छ । जसले बिरामीलाई मात्र नभई अरू मानिसहरूलाई पनि ठूलो असर पु¥याउन सक्छ । कराँची, पेसावर र लाहोरजस्ता सहरहरूमा बिरामीका परिवारले अस्पतालका कर्मचारीलाई हातपातको घटनाहरू भइसकेका छन् ।

कराँचीको जिन्ना पोस्ट ग्र्याजुएट मेडिकल सेन्टरको एक आइसोलेसन वार्डमा मानिसहरूले मृतकको शव तत्काल परिवारलाई नबुझाएको भन्दै तोडफोड गरे । पाकिस्तानमा मृतकको अन्त्येष्टि सकेसम्म छिटो इस्लामिक परम्पराअनुसार धेरै मलामीहरू सहभागी भएर गर्ने चलन छ । यद्यपि कोरोना भाइरसका संक्रमित वा शंकास्पद संक्रमितको मृत्युमा भने यो सम्भव छैन । उक्त अस्पतालमा एक डाक्टर याहया टुनिओ स्वास्थ्य कर्मचारीहरू अहिले कोरोना भाइरसका साथै अज्ञानतासँग पनि लडिरहेको बताउँछन् ।

लाहोरको मायो अस्पतालमा काम गर्ने डाक्टर जमाल अवान पछिल्लो समय आक्रमण बढेसँगै वार्डमा सुरक्षा बढाइएको बताउँछन् । उनका अनुसार मानिसहरूले अस्पतालको सीमित स्रोतसाधन र डाक्टरले विषालु इन्जेक्शन दिएको मारेको हो कि भन्ने आशंकाको कारण अस्पतालमा आक्रमण हुने गरेको छ ।

एकपटक उक्त अस्पतालमा आफ्नो गम्भीर अवस्थामा रहेका बिरामीलाई उनका परिवारले भेन्टिलेटरसहितको आईसीयू बेड मागे । तर अस्पतालमा आईसीयू बेड उपलब्ध नभएकाले उनलाई तत्काल आईसीयूमा राख्न सकिएन । त्यतिबेला अमरा खालिद ड्युटीमा थिइन् । त्यसको केही समयमा बिरामीको मृत्यु भयो । त्यसपछि २०÷३० जनाको समूह आएर अस्पतालका कर्मचारीमाथि हातपातको प्रयास गरे । उनीहरूमध्ये केहीले ‘साँच्चै कोरोना भाइरस लाग्ने भए तिमीहरू कसरी बच्यौ त ?’ समेत भन्न भ्याए ।

अमराका पति पनि डाक्टर हुन् । उनी पनि सोही अस्पतालमा काम गरिरहेका छन् । यो घटनापछि उनका पतिलाई वार्डभित्रै दुव्र्यवहार भयो र उनलाई कुनै सुरक्षाको उपकरणविना नै बिरामीको पीसीआर गर्न लगाइयो । अमिरा यो रोगको विषयमा सचेतना बढाउनु आवश्यक रहेको बताउँछिन् ।

यो घटनापछि अस्पतालमा सुरक्षा बढाइयो र बिरामीका सीमित आफन्तलाई मात्र अस्पतालमा आउने अनुमति दिने व्यवस्था गरियो । यो घटना हुँदा अमिरा निकै डराएकी थिइन् र काम छाड्ने मनस्थितिमा पुगेकी थिइन् । तर उनले आफ्नो मनस्थिति बदलिन् । ‘सबैले यस्तै सोच्ने हो भने अस्पतालमा आएर कसले काम गर्ने त ?’ उनले भनिन् ।

वास्तवमा पाकिस्तानमा अहिले सयौं डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कम्तीमा ३० जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

पेसावरको एक प्रमुख अस्पतालमा एकैपटक एक सयभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जबकि धेरैजसो स्वास्थ्यकर्मी प्रत्यक्षरुपमा कोरोना भाइरसका बिरामीको उपचारमा सहभागी थिएनन् । पाकिस्तानमा पछिल्लो समय पीपीईलगायतका स्वास्थ्य सामग्रीको गुणस्तरमा पनि केही सुधार देखिएको छ ।

यद्यपि पाकिस्तानमा अझै खराब अवस्था आउन सक्ने चिन्ता डाक्टरहरूले व्यक्त गर्दै आएका छन् । गत महिना पाकिस्तानले लकडाउन हटाएपछि यो चिन्ता अझै बढेको छ । मायो अस्पतालका डाक्टर रिज्वान साइगोल यसअघि नै अस्पतालमा बिरामीको लागि भेन्टिलेटरको अभाव हुन सुरु गरिसकेको अवस्थामा लकडाउन खोल्ने निर्णयले अवस्था झन् भयावह हुन सक्ने बताउँछन् । लकडाउन खुलेपछि पकिस्तानमा संक्रमितको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment