Comments Add Comment

ठुटेखोला पुलको दिगो निकास खोज्न हुलाकी सडक आयोजनाका प्रमुखलाई ठोरीवासीको आग्रह

तस्वीर सौजन्य : चिरञ्जीवी सापकाेटा

२३ जेठ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित ठुटे खोलाको पुल विवादकै बीच सञ्चालनमा ल्याइएको छ । स्थानीय नै जागरुक भएर कुलो पुरेर अस्थायी रुपमा पुल सञ्चालनमा ल्याएका हुन् । सीमावर्ती भारतको भिखनाठोरीमा सिञ्चाईका लागि पानी लैजाने एउटा कुलो पुरेर स्थानीयले पुल सञ्चालनमा ल्याएका थिए । पुल सञ्चालनमा नआउँदा वर्षायाममा सदरमुकाम वीरगञ्जसँगको सडक सम्पर्क टुट्ने र ठोरी १ र २ नम्बर वडाका बासिन्दाले सास्ती भोग्नु परिरहेको उनीहरुको गुनासो छ ।

जेठ १० गते ठोरी गाउँपालिका वडा नं १, २ र ३ का जनप्रतिनिधि तथा अगुवाहरु बैठक बसेर ठुटेखोलामा पुल सञ्चालनको विकल्प खोजेका थिए । उनीहरुले पुलको पूर्वपट्टी तीन वटा कुलो रहेकोमा २ वटामा कल्भर्ट निर्माण गरेर पुल सञ्चालनमा ल्याउने निर्णय गरे । निर्णय भए बमोजिम जेठ १४ गते पुलसँगै जोडिएको भारतर्फ पानी लैजाने एउटा कुलो पुरेर पुल सञ्चालनमा ल्याइएको थियो । त्यसको भोलिपल्ट हतियारसहित आएका भारतीय सुरक्षा फौज नेपाली भूमिमा प्रवेश गरी भारतीय नागरिकलाई पुरेको कुलो खन्न प्रयास गरेका थिए । तर स्थानीयले प्रतिकार गरेपछि उनीहरु कुलाे नखनी फर्केका थिए ।

यो पनि पढ्नुहोस ठुटे खाेलाको पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षको अवरोध

पुल सञ्चालनमा ल्याउनेक्रममा भएको विवादका बारे स्थलगत जानकारी लिन हुलाकी सडक आयोजनाको टोली शुक्रबार ठोरी पुगेको छ । आयोजनाको वीरगञ्जस्थित कार्यालयका प्रमुख दीपेन्द्र पाण्डेसहितको टोलीले स्थलत अवलोकन गरेको हो । टोलीलाई स्थानीयले पुल सञ्चालनको लागि दीर्घकालीन निकास खोजिदिन आग्रह गरेका छन् ।

पुल सञ्चालनमा ल्याउन तत्काल काम नथाल्ने हो भने सबै कुलो पुरिदिने मनस्थितिमा स्थानीय छन् । दसगजा क्षेत्र छोडेर नेपाली भूमिमा बनेको पुल सञ्चालन गर्न खोज्दा समेत भारतीय पक्षले दुःख दिएको उनीहरु बताउँछन् ।

आयोजना प्रमुख सहितको टोली ठोरी आउनुको उद्देश्य के हो ? भन्दै उनीहरुले जिज्ञासा राखेका थिए । पुल सञ्चालनमा ल्याउन खोज्दा भारतीय पक्षबाट भएको अवरोध र पुल क्षेत्रको अवस्थाका बारेमा आयोजना प्रमुखलाई जानकारी गराएको ठोरी–२ का वडाध्यक्ष किशोर तामाङले बताए ।
‘पहिलाे कुरा हामीले उहाँहरुलाई किन ठोरी आउनुभयो ? भनेरसोध्यौं, कुलो पुरिएका कारण विवाद भयो भन्ने सुनेर स्थलगत अनुगमनका लागि आएका हौं भन्नुभयाे,’ वडा अध्यक्ष तामाङले भने, ‘स्थलगत बस्तुस्थिति जस्तो छ त्यस्तै रिपोर्ट पठाउनुहोला, कसरी छिटो काम अघि बढाउन सकिन्छ र दिगो निकास दिन सकिन्छ भन्नेतर्फ पहल गर्नुहोला भनेका छौं ।’

उनले आफूहरुले एउटा कुलो मात्रै पुरेको र भारतीय पक्षलाई जति पानी चाहिन्छ, त्यति लैजान भनेका बताए । ‘स्थानीय स्तरमा भएको अनौपचारिक कुराकानीमा भारतीय पक्ष पनि हाम्रो निर्णय प्रति सकारात्मक छन्,’ तामाङले भने, ‘कुटनीतिक तहबाट पनि यो कुरा सम्बन्धित ठाउँमा पुग्नुपर्छ ।’

भिखनाठोरीका मुखिया राम बिहारी महतो लगायत केहीले भने कुलोमा पानी ल्याउनका लागि खोलामा पक्की बाँध बाध्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

हुलाकी सडक आयोजनाका अधिकारीहरुले भने विवादको बारेमा बुझ्न मात्रै स्थलगत अवलोकनमा आएको बताएका छन् । उनीहरुले सीमा क्षेत्रको विवाद भएकोले कुटनीतिक तहबाट मात्रै समस्याको समाधान हुन सक्ने धारणा राखे ।

ठोरी क्षेत्रमा हुलाकी सडक बनाउने जिम्मा पाएको बानियाँ निर्माण कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले कल्भर्ट कस्तो र कत्रो बनाउने भनेर पत्र नआएसम्म काम सुरु गर्न समस्या रहेको बताउँछन् । ‘आयोजना प्रमुखले यहाँको बस्तुस्थितिको बारेमा विभागमा रिपोर्टिङ गर्छौं, त्यसपछि उताबाट के निर्देशन आउँछ जानकारी गराउँला, तपाईं काम गर्दै गर्नुस् भन्नुभएको थियो,’ उनले भने, ‘मैले भारततर्फबाट अवरोध आइराखेको छ, पुलतिर काम गर्न कुन साइजको कल्भर्ट बनाउने भन्ने अन्यौल छ । कल्भर्टको साइज लगायतका विषयमा टुंगो नलाग्दासम्म काम गर्न सकिन्न भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment