
१९ साउन, काठमाडौं । भारतमा लगातार पाँचौं दिन कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार ९७२ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख तीन हजार ६९६ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३८ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ३८ हजार १३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७१ जनाको मृत्यु भएको हो ।
पछिल्लो १५ दिनमा भारतमा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । यद्यपि सरकारले निको हुने दर भने अन्य मुलुकको तुलनामा राम्रो रहेको बताएको छ । अहिलेसम्म भारतमा ११ लाख ८६ हजार २०३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
संक्रमित संख्याको आधारमा अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।
मृतक संख्यामा भने भारत अमेरिका, ब्राजिल, मेक्सिको र बेलायतभन्दा पछाडि छ । तर, मृतक संख्यामा भारतले इटाली, फ्रान्स, स्पेन र इरानलाई पनि भारतले पछि पारिसकेको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4