+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ईडीसीडीको दृश्य, जसले कोरोना नियन्त्रणमा कसरी चुक्दैछौं भन्ने छर्लङ्ग पार्छ

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ साउन २४ गते २१:०७

२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए।

बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’

बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरिरहेका थिए। कोही- कोही कर्मचारी भने ‘सुझाव कार्यfन्वयन हुने हैन, के बोल्नु व्यर्थै’ भन्ने भावमा चुपचाप सुनिरहेका थिए।

आधा घण्टापछि मिटिङ सकियो। कर्मचारीहरु तितर-बितर भए।

मिटिङ रुम नजिकैको एउटा कोठामा केही कर्मचारीहरु जम्मा भए। त्यहाँ यही साता एकजना संक्रमितले गरेको लापरवाहीको चर्चा सुरु भयो।

भारतको विहारबाट यही साता एकजना २९ वर्षीय युवक काठमाडौं छिरे। नागढुंगा नाकामा पोजेटिभ हुन सक्ने आशंका गर्दै उनको स्वाब झिकियो। २ दिनपछि ती युवकको पोजेटिभ रिपोर्ट आयो। उनले फर्म भर्दा टिपाएको नम्बरमा डायल गर्दा फोन अफ भन्यो। अन्य संक्रमितजस्तै ती युवक पनि सम्पर्कविहीनको सूचिमा थपिए।

‘हस्, म एकछिनमा फोन गर्छु’ भनेर कर्मचारीले फोन राखे। लगत्तै तीन/चारवटा अस्पतालमा फोन गरे। सुत्केरी महिलालाई राख्न मिल्ने बेड कुनै अस्पतालमा खाली थिएन। त्यसपछि त्यो समस्या उनले स्वास्थ्य मन्त्रालयमा टिपाए

दुई दिनपछि ती युवकको फोन लाग्यो। उनी ललितपुरको एक स्थानीय तहमा कवाडी बटुल्न साइकलमा हिँडिरहेका थिए। इडीसीडीले एम्बुलेन्स लिएर आउँछौं भन्दा ‘म ट्याक्सीमा आउँछु’ भनेर जवाफ दिए। इडीसीडीको टोली ढुक्क मान्दै बसे। उनी सार्वजानिक यातायात चढेर अस्पताल गएका थिए।

त्यो घटना इडीसीडीको लागि पहिलो थिएन, न त अन्तिम नै।

इडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘आफूलाई लिन टोलमा एम्बुलेन्स पुग्दा समाजमा पछि फर्किन गाह्रो हुन्छ भनेर संक्रमण पुष्टि भएका मानिसहरु लुकिरहेका छन्, त्यसले झन् समस्या निम्त्याएको छ।’

‘पछिल्लो साता त ५० जनाभन्दा बढी संक्रमित सम्पर्कविहीन भएका छन्, उनीहरुलाई खोज्दैछौँ,’ कुरै कुरैमा एक कर्मचारीले सूचना चुहाए।

‘५० जना अझै भेटिएका छैनन् …? कुन दिन, कति जना सम्पर्कविहीन भएका हुन् रे.. ?’ प्रश्न सकिनासाथ रेडिमेड जवाफ आयो, ‘सम्पर्कविहीन भएकामध्ये केही संक्रमित दुई/तीन दिनपछि सम्पर्कमा आए, अझै ५० जनाभन्दा बढी संक्रमित भेटिएकै छैनन्।’

इडीसीडीका अनुसार बुधबार मात्र १६ जना संक्रमित सम्पर्कविहीन भएका थिए। तीमध्ये १० जना शुक्रबार सम्पर्कमा आए। बाँकी अझै बेपत्तै छन्। त्यसैगरी विहीबार सम्पर्कविहीन भएका ५ जना अझै भेटिएका छैनन्। यसैगरी यसअघि सम्पर्कविहीन भएका मध्येबाट ५० जना अझै भेटिएका छैनन्।

‘५० जना सम्पर्कविहीन हुनु भनेको त सानो कुरा होइन नि ?’ हाम्रो प्रश्नलाई बेवास्ता गर्दै एक कर्मचारी बोले, ‘हामीले मात्र के गर्न सक्छौँ त, फोन अफ गरेर गलत ठेगाना टिपाएपछि हामीले कसरी भेट्नु ?’

ती कर्मचारीका अनुसार शुक्रबार इडीसीडीको बैठक यही विषयमा केन्द्रित थियो। सम्पर्कविहीन भएका संक्रमितलाई खोज्नका लागि नेपाल प्रहरी, टेलिकम र सम्बन्धित वडासँग समन्वय गर्ने छलफलको निष्कर्ष छ, कन्ट्याक ट्रेसिङमा अझै प्रभावकारी भएर खटिन हाकिमको निर्देशन।

त्यहीबेला त्यही रहेका एक कर्मचारीलाई फोन आयो। फोन होम आइसोलेसनमा बसेकी एक महिलाको थियो। उनी उताबाट ‘सास फेर्न गाह्रो भयो, अस्पतालमा लगिदिनुपर्यो’ भनिरहेकी थिइन्।

‘हस्, म एकछिनमा फोन गर्छु’ भनेर कर्मचारीले फोन राखे। लगत्तै तीन/चारवटा अस्पतालमा फोन गरे। सुत्केरी महिलालाई राख्न मिल्ने बेड कुनै अस्पतालमा खाली थिएन। त्यसपछि त्यो समस्या उनले स्वास्थ्य मन्त्रालयमा टिपाए।

लगत्तै अर्को फोन आयो। ‘संक्रमण पुष्टि भएको २ दिन भयो कोही लिन आएनन्,’ फोनमा आत्तिएको आवाज सुनिएको थियो। ‘वडा अध्यक्षलाई फोन गर्नू,’ ती कर्मचारीले जवाफ दिए।

उताबाट जे सोधे पनि उनी भन्थे, ‘अहिले अस्पताल पुर्याउने काम स्थानीय तहको हो, उतै भन्नुस्।’

भनाभन हुँदाहुँदै फोन काटियो। ती कर्मचारी हैरान हुँदै बोले, ‘अस्पताल खाली भए पो लिन जान्छन् ? सबै अस्पताल भरिइसके, कहाँ लगेर राख्नु ?’

एकछिनमा माहोल शान्त भयो। हामीले अनलाइनखबरको टोली इडीसीडी जानुको उद्देश्य बतायौं।

कन्ट्याक ट्रेसिङ, केस म्यानेजमेण्ट, डाटा म्यानेजमेन्ट लगायत अरु केही विभागका कर्मचारीहरु अन्तर्वाताका लागि तयार भए। उनीहरु प्रत्येकको हातमा ल्यापटप थियो। टेबलमा फाइलको चाङ।

हामी लकडाउन खुलेपछि काठमाण्डौंमा थपिएका संक्रमितमध्ये उपत्यकाका र ट्राभल गरेर आएका कति हुन्, कति जनामा लक्षण छ, कतिमा छैन ? कतिजना होम आइसोलेसनमा छन्, कतिजना आइसीयूमा ? लगायतका तथ्यांकहरु जान्न चाहन्थ्यौं।

इडीसिडीको तथ्यांकअनुसार साउन २२ गतेसम्ममा काठमाण्डौमा ६०७, भक्तपुरमा ७८ र ललितपुरमा १ सय जना संक्रमित भेटिएका छन्।

‘यीमध्ये कति यहीँको स्थानीय र कतिजना बाहिर ट्राभल गरेर आएका ?’ हाम्रो प्रश्नमा इडीसीडीका एक अधिकारीले भने, ‘लगभग ८५ प्रतिशत उपत्यका बाहिरबाट ट्राभल गरेर आएका हुन्।’

हामीले फेरि सोध्यौं, ‘सङ्ख्या भन्न सकिँदैन सर, त्यसो गर्दा विष्लेषण गर्न सजिलो हुन्थ्यो।’

‘हामीसँग दिनहुँ धेरै केसहरु आउँछन्, हामीले त्यसरी डाटा छुट्याएर राख्न भ्याउदैनौँ,’ बेवास्ताको भावमा एकजना कर्मचारीले भने, ‘हामीसँग त कुल संक्रमितको डाटा पो हुन्छ त, कहाँ हरेक मानिसले खोजेजस्तो डाटा हुन्छ ।’

‘हरेक दिन आउने तथ्यांकलाई स्थानीय, ट्राभल गरेर आएका, लक्षण भएका/ नभएका शीर्षक बनाएर कम्प्युटरमा हाल्दिएपछि त जम्मा तथ्यांक त जुनसुकै शीर्षकको पनि देखाहाल्छ नि सर’ हामीले आग्रह गर्यौ, ‘तपाईहरुले प्रत्येक दिन उपत्यकामा देखिएका उपत्यका बाहिरको र स्थानीयको डाटा दिनुस्, हामी आफैं जोड्छौं।’

‘यति धेरै फाइलहरु छ, सबै फाइल पल्टाएर हेर्दा त दिन जान्छ नि’ टेबुलमा रहेको फाइल देखाउँदै एक कर्मचारीले सोधे, ‘तपाईलाई डाटा दिएर बस्नु कि अरु काम गर्नु ?’

संक्रमितको ग्राफ बढिरहेका बेला महामारी नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई भुल्याउने हाम्रो उद्देश्य र नियत थिएन। तर, उनीहरुको प्रस्तुति हेर्दा अर्को प्रश्न जरुरी थियो, सोध्यौँ, ‘तपाईहरुले तथ्यांक नै उपलब्ध गराउनुभएन भने संक्रमण स्थानीयमा फैलिएको छ/छैन, बाहिरबाट आउनेहरु कुन ठाउँका बढी छन् र लक्षण भएका संक्रमित छन्, कि छैनन् भन्ने थाहा नपाई सरकारले कसरी रणनीति बनाउँछ ?’

प्रश्न पूरा हुन नपाउँदै अर्को कर्मचारी टाउको कन्याउँदै बोले, ‘हामी संक्रमित व्यवस्थापन गर्नु कि यो डाटा म्यानेज गरेर बस्नु ?’

त्यो रेडिमेड जवाफ थियो, तै पनि फेरि सोध्यौं, ‘दिनहुँ आएका डाटालाई कम्युटरमा अपडेट गर्ने त हो सर ।’

उनीहरु डाटा अपडेट गर्ने काम सजिलो छ भन्ने स्वीकार गर्ने पक्षमा थिएनन्।

जनस्वास्थ्य विज्ञहरुका अनुसार तथ्यांकहरुको विश्लेषण गर्दा महामारी कुन हदसम्म कसरी जाँदैछ भन्ने आकलन गर्न सजिलो हुन्छ। जस्तो कि काठमाण्डौमा देखिएका संक्रमितमध्ये अधिकांश बाहिरबाट आएका हुन् भने नाकाबाट आउनेलाई कडाइ गरेर टेस्ट गर्दा महामारीको जोखिम कम हुन्छ।

त्यसैगरी धेरै संक्रमितमा लक्षण देखिएको छ भने महामारी भयावह अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ। अस्पताल आइसोलेसनमा भन्दा बढी होम आइसोलेसनमा मानिस बसेका रहेछन् भने सामान्य संक्रमितहरु पनि रहेछन् भन्ने किसिमले रणनीति बनाउन सयोग पुग्छ।

तर, इडिसीडीले सरकारले रणनिति बनाउनलायक हुने गरी तथ्यांक राखेको थिएन। त्यसको प्रमाण जताततै देखिइरहेको थियो। कम्प्युटरको जमानामा फाइल पल्टाएपछि व्यवस्थित तथ्यांकको के अपेक्षा गर्नु ?

धेरैबेर फाइलमा नजर लाइसकेपछि एक कर्मचारीले भने ‘लू २१ गते र २२ गतेको डाटा टिप्नुस्।’

पाना पल्टाउँदै उनी बोले, ‘२२ गते ८१ जना संक्रमितमध्ये ३२ जना संक्रमितमा लक्षण थियो भने २१ गते १०२ संक्रमितमध्ये ३७ जनामा लक्षण थियो।’

फाइल पल्टाउँदै ती कर्मचारीले थपे, ‘२२ गते उपत्यकामा देखिएका संक्रमितमध्ये १७ जना तराईका जिल्लाबाट ट्राभल गरेर आएका थिए भने २१ गते ३६ जना संक्रमित उपत्यकाबाहिरबाट आएका थिए।’

इडिसीडीको कर्मचारीहरुको कुरा सुन्दा र त्यहाँको परिदृश्यहरु हेर्दा तथ्यांक भद्रगोल रहेको भन्ने प्रष्ट हुन्थ्यो। प्रश्न स्वाभाविक उठ्छ, ‘यति थोरै संक्रमित हुँदा त डाटाको यत्रो भद्रगोल छ, पछि संक्रमित थपिए के हाल होला ?’

जवाफ उनीहरुसँगै थिएन।

तर, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले हरेक दिन भेटिने संक्रमितको तथ्याकंलाई व्यवस्थित गरेको छ। ललितपुरमा देखिएका संक्रमित कुन जिल्लाबाट आएका, कति जनामा लक्षण छन्, कति जना होम आइसोलेसनमा छन् ? उनीहरुले हरेक तथ्यांक व्यवस्थित राखेका छन्।

त्यही डाटा इडीसीडीमा पठाउने गरेको स्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन उपेन्द्र अर्याल बताउँछन्। उनी भन्छन्, ‘हामी फरक-फरक शीर्षकमा डाटा बनाएर इडीसीडीलाई पठाउँछौ, अरु जिल्ला पनि त्यसै गर्छन्, त्यहाँ अपडेट गर्यो भने हुन्छ।’

‘एउटा जिल्लाको जनस्वास्थ्य कार्यालयले गर्ने काम इडीसीडीले गर्न किन सक्दैन ?’

इडीसीडीका कर्मचारी भन्छन्, ‘नसक्ने भन्ने होइन्, हाम्रो पहिलो प्राथमिकता ‘डाटा म्यानेज’ गर्नुभन्दा संक्रमितलाई अस्पतालमा म्यानेज गर्नु हुन्छ। अहिले यत्ति बुझ्नु, उपत्यकामा हरेक दिन देखिने कुल संक्रमितको ५० प्रतिशत त बाहिरबाट ट्राभल गरेर आएकै छन्।’

काम छ भन्दै ती कर्मचारी त्यहाँबाट बाटो लागे।

एक कर्मचारी भन्छन्- कोरोना हाम्रो क्षमता र बुँताले नियन्त्रण गर्न सक्दैनौं । यथार्थ यही हो कि अब यसले महामारीको रुप लिन्छ, संक्रमणसँग लड्न सक्ने लड्छन्, नसक्ने मर्छन्, उपचार पाउनका लागि त अस्पताल खाली हुनुपर्यो नि

‘हामीसँग तथ्यांक नै नभएको होइन, तर भएको तथ्यांक भद्रगोल छ,’ अर्को कर्मचारीले दिक्क मान्दै दुखेसो पोखे, ‘तपाईहरु इडीसीडीले कन्ट्याक ट्रेसिङ नै गरेन भनेर समाचार लेख्नुहुन्छ, तपाईहरु नै भन्नुस् त कसरी गर्ने हो कन्ट्याक ट्रेसिङ ? एकजना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्न एक जना जनशक्तिलाई पूरै एक दिन लाग्छ, हामीसँग त्यति धेरै जनशक्ति छन् र ?’

ती कर्मचारीलै एकै सासमा कन्ट्याक ट्रेसिङको दु :ख सुनाए—

ल्याबले संक्रमण पुष्टि गरेपछि हाम्रो कन्ट्रोल रुममा तथ्यांक आउँछ। त्यहाँ जिल्ला र स्थानीय निकायहरुको केस छुट्याएपछि केस म्यानेजमेण्ट इकाइमा तथ्यांक  पुग्छ। त्यो तथ्यांक आएपछि केस म्यानेजमेण्ट इकाइले सम्बन्धित नगरपालिकामा तथ्यांक पठाउँछ। त्यहाँबाट संक्रमित पहिचान गरी सम्पर्क गरेर एम्बुलेन्स लिएर अस्पताल पुर्याउनुपर्छ।

संक्रमित पहिचान गरेर अस्पताल पुर्याउँदैमा हाम्रो काम सकिन्न। कतिपय संक्रमित त फोन अफ गरेर बस्छन्। नम्बर मात्र होइन, ठेगाना पनि गलत टिपाउने भएकाले कतिपय संक्रमित भेटिँदैनन्।

अर्का कर्मचारीले दुखेसो पोखे, ‘मन्त्रालयले अनेक शीर्षकको तथ्यांक मागेर हैरान पारेको छ, हाकिम कन्ट्याक ट्रेसिङ प्रभावकारी गर्नुपर्यो भनेर निर्देशन दिन्छन्, पत्रिकाले कन्ट्याक ट्रेसिङ गर्न सकेन भनेर हामीलाई नै खेदेर समाचार लेख्छ, हाम्रो समस्या कस्ले बुझ्ने ?’

‘कस्तो समस्या ?’ हाम्रो प्रश्नतिर ध्यान नदिइकन ती कर्मचारीले एकपटक स्वास्थ्यमन्त्रीलाई गाली गरे। प्रधानमन्त्रीलाई नानाभाँती भन्दै ‘देश यसरी नै चल्ने र’छ, सामान्य डेंगु फैलदा नियन्त्रण गर्न नसक्ने जनशक्तिले कोरोनाको महामारी नियण्त्रण गर्छ भनेर ढुक्क भएर बसेका छन्’ भन्दै आफ्नो कुरा सके।

अनि अर्को कर्मचारीले थपे, ‘यति थोरै मानिस छौं, हरेक दिन भेटिने प्रत्येक संक्रमितलाई आफ्नै मोबाइलबाट फोन गर्नुपर्छ, एक जनासँग १० मिनेट बोल्दा मात्रै कति धेरै रिचार्ज खर्च हुन्छ, उसको कन्ट्याकसँग पनि कुरा गर्नैपर्छ। हामी त फोनमा बोल्दै ठिक्क हुन्छ , हरेक दिन राति १० बजेसम्म काम गर्दा पनि केही गरेको देखिँदैन।’

‘स्वास्थ्य मन्त्रालयले ध्यान नदिइकन कन्ट्याक ट्रेसिङको काम सकिन्न’ अर्का कर्मचारी आक्रोशित हुँदै बोले, ‘यत्रो महामारी नियन्त्रण इडिसीडीले मात्रै गर्ने हो र ? मन्त्रालयले हाम्रो समस्या बुझ्नुपर्दैन ? यहाँ स्रोत र जनशक्ति थप्नु पर्दैन ?’

सरकारले कन्ट्याक ट्रेसिङका लागि स्थानीय तहमा रहेका कन्ट्याक ट्रेसिङ गर्ने टिममा महानगरपालिकामा ५, उपमहानगरमा ३, नगरमा २ र गाउँपालिकामा एउटा टिम खटाएको छ ।

टिममा तीन सदस्य (जनस्वास्थ्य अधिकृत, पारामेडिक्स वा नर्स र प्रयोगशालाकर्मी) हुन्छन् । यति थोरै जनशक्तिले कन्ट्याक ट्रेसिङ सम्भव नहुने भन्दै इडीसीडीको निर्देशक डा. पाण्डे बारम्बार गुनासो गरिरहन्छन्। तर, इडीसीडीमा जनशक्ति थप्ने सुरसार देखिँदैन। जनशक्ति अभावले काम गर्न नसक्ने बताइरहेका पाण्डेलाई ‘जनशक्ति थप्न किन सकिएको छैन’ भनेर सोध्दा नाजावाफ हुन्छन्।

‘कोरोना हाम्रो क्षमता र बुँताले नियन्त्रण गर्न सक्दैनौं’ आक्रोशित हुँदै एक कर्मचारी भन्छन्, ‘यथार्थ यही हो कि अब यसले महामारीको रुप लिन्छ, संक्रमणसँग लड्न सक्ने लड्छन्, नसक्ने मर्छन्, उपचार पाउनका लागि त अस्पताल खाली हुनुपर्यो नि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?