
३२ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कोभिड-१९ महामारीका बेला सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ‘हामी अध्ययन गरिरहेका छौं’ भन्ने महशुस गराउन सक्नुपर्ने बताएका छन् ।
विश्वविद्यालय अनुदान आयोगद्वारा आइतबार आयोजित विश्वविद्यालयका उपकुलपतिहरूसँगको अनलाइन बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन । ‘यो छलफलमा उपकुलपतिज्यूहरूले विद्यार्थीको पहुँचमा अनलाइन भएन, इन्टरनेट भएन नभन्नु होला’ मन्त्री पोखरेलले भने, ‘यो समयसम्म आईपुग्दा सबै विश्वविद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको ट्याकिङ गरिसक्नु भयो भन्ने ठानेको छु ।’
बैठकलाई सम्बोधन गर्दै उनले न्यूनतम ६ महिनाको कोभिड-१९ केन्दि्रत क्यालेन्डर र कार्यतालिका एक हप्ताभित्र सार्वजनिक गर्न उपकुलपतिहरूलाई निर्देशन दिए ।
शिक्षा नीतिलाई प्रोफेसनल तथा कोभिड-१९ केन्दि्रत भएर परिमार्जन गर्ने तयारीमा मन्त्रालय लागेको र राष्ट्रिय योग्यता प्रारुपबारे मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति आइसकेको पोखरेलले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपतिहरूले भने विद्यार्थीको ट्याकिङ गर्न बाँकी रहेको, सम्पन्न भइसकेका परीक्षाको नतिजा प्रकाशन भइरहेको, प्रयोगात्मक परीक्षा सञ्चालनमा समस्या रहेको र साझा तथ्यांक केन्द्र आवश्यक रहेको बताएका थिए ।
प्रतिक्रिया 4