
१४ भदौ, जनकपुरधाम । हिरासतमा रहेका बेला बिरामी परेर मृत्यु भएका रौतहटका विजय महराको परिवारलाई प्रदेश– २ सरकारले ५ लाख रुपैयाँ राहत दिने भएको छ ।
गरुडा नगरपालिका– ८ जिगडियाका १९ बर्षीय विजय महरा गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा बिरामी भएपछि उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५ दिनअघि मृत्यु भएको थियो ।
गाउँकै युवक हत्या आरोपमा उनी ३२ साउनमा पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गरुडाको थुनाभित्र अनुसन्धानका लागि राखिएको थियो ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मृतक महराको परिवारलाई ५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गरिने जानकारी दिए । उनले विजयको मृत्युको घटनाको छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्ने पनि बताए ।
प्रहरीले विजय मिर्गौला रोगी भएको र बिरामी पर्दा उपचारका लागि बीरगंज लैजाँदा मृत्यु भएको बताए पनि विजयले मृत्युअघि प्रहरीले फलामको पाइप र बाँसको भाटाले निर्घात कुटपिट गरेको बताएको भिडियो सार्वजनिक भएका थियो ।
यो घटनापछि गरुडाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानेर प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया 4