Comments Add Comment

गन्यमान्यलाई कोरोना : बेलायतका प्रधानमन्त्रीदेखि नेपालका मेयरसम्म

२५ भदौ, काठमाडौं । कोरोनाको जालो विश्वभर फैलिइसकेको छ । धेरै देशहरुमा यो नियन्त्रणउन्मुख र संकुचित हुने क्रममा छ भने केही देशहरुमा उत्कर्षतर्फ लागेको छ । नेपाल दोस्रो श्रेणीमा पर्छ ।

कुनै पनि रोगले ठूला-साना भनेर विभेद गर्दैन । तर, गरिब निमुखाहरुले रोगको राम्रो उपचार नपाउने हुनाले उनीहरु बढी जोखिममा हुन्छन् । हुनेखानेहरुले समयमै उत्कृष्ट अस्पताल र चिकित्सकको सेवा पाउन सक्ने हुनाले जोखिम कम हुन्छ । कोरोनाको हकमा पनि त्यस्तै भइरहेको छ ।

आजका मितिसम्म विश्वभर सार्वजनिक ओहदामा रहेका नेता, कलाकार, खेलाडी, अर्बपतिदेखि धेरै गन्यमान्य व्यक्तिहरुलाई कोरोनाले लपेटेको छ । तथापि उनीहरुको दु:खद समाचार सुनिएको छैन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोनाबाट मृत्यु भएको भनिए पनि उनी अरु रोगबाट पनि पीडित थिए ।

नेपालमा पनि धेरै चिरपरिचित व्यक्तिहरु कोरोना संक्रमित बनिरहेका छन् । नेतादेखि कलाकार र पत्रकारलाई कोरोना संक्रमण भएको छ । उनीहरु धमाधम ठिक पनि भइरहेका छन् ।

पछिल्लोपटक कांग्रेस महामन्त्री सशांक कोइरालालाई कोरोना देखिएको छ । लक्षण नभएकाले उनी पनि चाँडै संक्रमणमुक्त हुन आशा गर्न सकिन्छ ।

यहाँ हामी विश्वका विभिन्न देशका भिआइपीहरुको चर्चा गर्दैछौं, जो कोरोनाको संक्रमणमा परे  :

बोरिस जोन्सन
बेलायतका प्रधानमन्त्री

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मेमा कोरोना पोजिटिभ देखिएको थियो । उनी गम्भीर बिरामी परे ।

५५ वर्षीय जोन्सनलाई कोरोना संक्रमण देखिएपछि १० दिनसम्म उनी निवासमै आइसोलेट भएर बसेका थिए । तर, स्वास्थ्य अवस्था बिग्रेपछि ६ अपि्रलमा उनलाई लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा भर्ना गरियो । उनी तीन रातसम्म सघन उपचार कक्षमा रहे । अस्पतालका स्वास्थ्यकर्मीहरुको अथक मिहिनेत र समर्पणले गर्दा आफू ठीक भएको जोन्सनले बताएका छन् ।

मिखाइल मिसुस्टिन
रुसका प्रधानमन्त्री

रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई गत मे महिनामा कोरोना पोजिटिभ देखियो । उनी आफैंले टेलिभिजनमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका थिए ।

आफू संक्रमित बनेपछि उनले उपप्रधानमन्त्रीलाई कार्यभार सुम्पेका थिए । तर, उनले निवासबाटै मन्त्रिपरिषदको वैठकमा भाग लिइरहे । उनी सुट टाइ लगाएर भिडियो कन्प|mेन्समार्फत मन्त्रिपरिषद वैठकमा भाग लिन्थे ।

करिब तीन साता आइसोलेसनमा बसेपछि मिखाइल काममा फर्केका थिए । गम्भीर लक्षण नदेखिएकाले उनलाई खासै समस्या भएन ।

युवराज चार्ल्स 
बेलायती युवराज

प्रिन्स अफ वेल्स भनेर चिनिने बेलायतका युवराज चाल्र्सलाई गत मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । ७१ वर्षीय उनलाई सामान्य लक्षणहरु देखिएका थिए ।

सरकारले तोकेको नियमअनुसार सात दिन सेल्फ आइसोलेसनमा बसेपछि चाल्र्स काममा फर्किए । राजपरिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएन ।

प्रणव मुखर्जी
भारतका पूर्वराष्ट्रपति

कोरोना संक्रमण पुष्टि भएपछि मृत्यू भएका सबैभन्दा ठूला हस्ती भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी हुन् । ८४ वर्षीय मुखर्जीको गत ३१ अगष्टमा मृत्यु भयो ।

गत अगष्ट १० मा उनलाई दिल्लीस्थित आर्मी हस्पिटलमा भर्ना गरिएको थियो । उनको पीसीआर टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आयो । आफूलाई कोरोना भएको मुखर्जी स्वयंले जानकारी दिएका थिए ।

मुखर्जीको फोक्सोमा संक्रमण थियो । साथै मस्तिष्कमा रगत जमेको थियो । मस्तिष्कको शल्यक्रिया असफल भएपछि उनी कोमामा गएका थिए । उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो ।

अन्य नेताहरु

कोरोना संक्रमण भएका विश्वका अन्य नेताहरुमा भारतीय गृहमन्त्री अमित शाह, इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिट्जम्यान, बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक, अष्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोन, इरानका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची लगायत छन् ।

पप गायिका म्याडोना

‘क्वीन अफ पप भनेर चिनिने’ विश्वविख्यात गायिका म्याडनोलाई गत मेमा कोरोना संक्रमण भयो । कोरोना देखिएपछि पनि सामाजिक दुरी कायम नगरेको भनेर उनले निकै आलोचना पनि भोगिन् ।

संक्रमण भइसकेपछि उनले आफ्नो एक फोटोग्राफर साथीले आयोजना गरेको पार्टीमा भाग लिएकी थिइन् । जबकि धेरैजसोले उक्त पार्टीमा जुममार्फत सहभागिता जनाएका थिए । थोरै मात्रै उपस्थित भएको पार्टीमा कोरोना संक्रमण बोकेरै सहभागी भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । ६१ वर्षीया म्याडोनाका दुई छोराछारी सानै भएकाले पनि उनी असंवेदनशील भएको आरोप लाग्यो ।

नेइमार र पीएसजीका सात फुटबलर

फ्रान्सको प्रख्यात फुटबल क्लव पीएसजी (पेरिस सेन्ट जर्मन) का सातजना खेलाडीहरु कोरोना संक्रमित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेलिमेलका अनुसार संक्रमित हुनेमा सुपरस्टार नेइमार र किलियन एम्बाप्पे, एन्जेल डिमारियालगायत छन् । क्लवले भने औपचारिकरुपमा उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन ।

संक्रमित खेलाडीहरुले अनिवार्य दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । उनीहरुको प्रत्येक साता दुईपटक पीसीआर टेष्ट गरिन्छ । नेगेटिभ रिपोर्ट आएको खण्डमा भने टिममा ज्वाइन हुन सक्छन् ।

पाकिस्तानी क्रिकेटर

पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफ्रदीलाई गत जून महिनामा कोरोना संक्रमण भएको थियो । उनी बिरामीसमेत परेका थिए ।

अफ्रिदीले टि्वटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै लेखेका थिए, ‘म दुई-तीनदेखि अस्वस्थ छु । शरीर नराम्ररी दुखिरहेको छ । मेरो कोभिड टेस्ट पोजिटिभ देखिएको छ ।’

कोरोना संक्रमण भएको केही दिनपछि उनले भिडियो सन्देश जारी गरेका थिए । त्यसमा उनले भनेका छन्, ‘सुरुका २-३ दिन निकै गाह्रो भयो । अहिले अलि सुधार भएको छ । तर, आफ्ना बच्चाहरुसँग घुलमिल हुन नपाउँदा मलाई निकै छट्पटी भइरहेको छ ।’

अफ्रिदीपछि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने १० जना खेलाडीलाई संक्रमण भएको समाचार बाहिरियो । संक्रमित भएकाहरुमा फकार जमान, इमरान खान, कासिफ भट्टी, मोहम्मद हाफिज, मोहम्मद हस्नैन, मोहम्मद रिजवा, वाहब रियाज, सदाब खान र ह्यारिस राउफ थिए । तीन दिनपछि पुन गरिएको परीक्षणमा भने उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

अन्य खेलाडी

आठपटक ओलम्पिकमा स्वर्ण जित्ने विश्वकिर्तिमानी स्पि्रन्टर उसैन बोल्टलाई गत अगष्टमा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमण हुनुभन्दा केही दिनअघि मात्रै उनले आफ्नो घरमा साथीभाइ बोलाएर पार्टी गरेका थिए । उनलाई कुनै लक्षण भने देखिएन ।

कोरोना संक्रमित अन्य खेलाडीहरुमा युभेन्टसका फुटबलर डेनील रुगानी, सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिक, बास्केटबल खेलाडी केभिन डुरेन्ट, टर्कीका पूर्वफुटबलर रुस्तु रेक्बर लगायत छन् ।

हलिउड कलाकार

कोरोनाबाट संक्रमित भएका हलिउड कलाकारहरु पनि धेरै छन् । ग्रामी अवार्ड विजेता अमेरिकी गायक जोन पि्रन कोरोनाका कारण मृत्यु भयो । उनी ७३ वर्षका थिए । अरु कलाकारहरु भने कोरोनालाई जित्न सफल भएका छन् ।

हलिउड अभिनेता टम ह्याङ्स र उनकी पत्नी रिता विल्सनलाई अष्ट्रेलियामा छँदा कोरोना पोजिटिभ देखिएको थियो । अर्का हलिउड स्टार रोबर्ट प्याटिन्सनलाई ‘द ब्याटम्यान’ को सुटिङका क्रममा कोरोना संक्रमण भयो । अन्य कलाकारहरुमा अभिनेत्री अलिभिया निक्कानेन, गेम अफ थ्रोन्सकी स्टार इन्दिरा बर्मा, अभिनेता एडि्रस एल्बा, गेम अफ थ्रोन्स र द फेट अफ द फ्युरियसका अभिनेता क्रिस्टोफर हिभ्जु, युक्रेनी अभिनेता मोडल ओल्भा कुरिलेन्कोलगायत छन् ।

अमिताभ बच्चन र परिवार

भारतीय चलचित्र उद्योग बलिउडका विख्यात अभिनेता अमिताभ बच्चन गत जुलाईमा कोरोना संक्रमित भए । अमिताभसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आराध्यालाई पनि कोरोना पोजिटिभ देखिएको थियो ।

अमिताभ र उनको परिवारका सदस्यहरु मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका थिए । अस्पतालमा तीन साता बिताएपछि अमिताभ डिस्चार्ज भए । अहिले बच्चन परिवारका सबैजना संक्रमणमुक्त भइसकेका छन् । अमिताभकी पत्नी जया बच्चनलाई भने संक्रमण देखिएन ।

अन्य बलिउडकर्मी

बलिउडमा धेरै कलाकारहरुलाई कोरोना संक्रमण भएको छ । सबैभन्दा पहिले गायिका कन्निका कपुर संक्रमित बनेकी थिइन् । ‘बेबी डोल’ गायिकाको मिडियामा निकै चर्चा पनि भयो । उनी धेरै दिन अस्पतालमा बसेकी थिइन् ।

भारतको सबैभन्दा सफल फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजामौली र उनको परिवारलाई कोरोना भएको थियो । यसैगरि, अभिनेत्री जेनेलिया देशमुख, संगीतकार बाजिद खान, अभिनेता किरण कुमार, अभिनेता अर्जुन कपुर, अभिनेत्री मलाइका अरोडा लगायतलाई कोरोना संक्रमण भएको छ । अर्जुन र मलाइकालाई हालै संक्रमण पुष्टि भएको हो । उनीहरु प्रेमी-प्रेमिका हुन् ।

नेपालका हाइप्रोफाइल

अन्य देशमा विस्तारै सिथिल हुन थालेको कोरोनाको ग्राफ दिनदिनै उकालो लागिरहेको छ । यसको फैलावटसँगै केही हाइप्रोफाइल व्यक्तिहरु संक्रमित बनेका छन् । तर, गम्भीर लक्षण भने कसैमा देखिएको छैन ।

विद्यासुन्दर शाक्य
काठमाडौंका मेयर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण अहिले आइसोलेसनमा छन् । उनलाई गत भदौ १६ गते कोरोना पुष्टि भएको थियो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नी अस्वस्थ भएपछि दम्पत्तिले नै स्वाब दिएका थिए । तर, पत्नीको साटो विद्यासुन्दरलाई कोरोना देखियो । उनले आफूलाई कुनै लक्षण नभएको र होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । कोरोना नियन्त्रण र व्यवस्थापनमा खटिँदा आफूलाई संक्रमण भएकोउ शाक्यको भनाइ छ ।

विनोद चौधरी
उद्योगपति

फोर्ब्सको धनाढ्य सुचीमा रहेका नेपालका एक्ला अर्बपति विनोद चौधरी हालै कोरोना संक्रमण मुक्त भएका छन् । गत भदौ १२ गते उनले टि्वटरमा आफूलाई संक्रमण भएको जानकारी दिएका थिए । उनलाई कुनै लक्षण देखिएको थिएन ।

१० दिन होम आइसोलेसनमा बसेपछि चौधरी संक्रमण मुक्त भएका हुन् । उनले पाँच दिनअघि टि्वटरबाटै आफू संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।

नवीन घिमिरे
अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे गत साउनमा कोरोना संक्रमित बनेका थिए । यद्यपि, यसको औपचारिक जानकारी भने उनले गराएनन् ।

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको थियो । त्यही क्रममा घिमिरे पनि संक्रमित भएका हुन् । उनलाई लक्षण भने थिएन । केही दिन आइसोलेसनमा बसेपछि उनी संक्रमणमुक्त भइसकेका छन् ।

सशांक कोइराला
कांग्रेस महामन्त्री

कांग्रेस महामन्त्री सशांक कोइरालाले हिजो मात्रै आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । उनले मंगलबार स्वाव दिएकोमा रिपोर्ट पोजिटिभ आएको हो ।

कोइरालाले भनेका छन्, ‘ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्यसम्वन्धी कुनै समस्या देखिएको छैन ।’

चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्प्र्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।

डा. प्रदीप यादव
संघीय सांसद

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई गत महिना कोरोना संक्रमण भएको थियो । संसद अधिवेसन अन्त्य भएपछि वीरगञ्ज पुगेका उनी संक्रमित भएका थिए ।

सांसद यादवले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी दिँदै लेखेका थिजए, ‘मैले पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएकोउ छैन ।’

केही दिन आइसोलेसनमा बसेपछि यादव अहिले संक्रमणमुक्त भइसकेका छन् ।

विजयकुमार सरावगी
वीरगञ्जका मेयर

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई गत साउनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमण मुक्त भइसकेका छन् ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको स्वाब संकलन गरेर परिक्षण गरिएको थियो । आफूलाई संक्रमण भएको जानकारी दिँदै उनले भनेका थिए, ‘तपाईंहरुको सेवामा अनवरतरुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाका संक्रमणको चपेटामा परेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment