Comments Add Comment

अपहरण गरी फिरौती मागेको आरोपमा तीन जना पक्राउ

२६ भदौ, काठमाडौं । अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको आरोपमा काभ्रेको धुलिखेलबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-१२ तीनघरे घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाइस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थान घर भई हाल सोहो ठाउँ डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् । प्रहरीले उनीहरुलाई धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाइस किलो क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

पाँचखाल नगरपालिका-१२ देवभूमि घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाइस किलोमा ४/५ जनाको अपरिचित समूहले अपहरण गरी ५० हजार रुपैयाँ मागेको सूचनाको आधारमा प्रहरीले बनेपा नगरपालिका-१० बुडोलबाट सोही दिन बेलुका उनलाई सकुशल उद्दार गरेको थियो ।

राजकुमारको अपहरणमा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सबिनालाई बिहीबार र उमालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडित राजकुमारलाई फोन सम्पर्क गरी धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाइस किलोमा बोलाएको पाइएको प्रहरीले जनाएको छ ।

सबिना र उमासँग भेटभएपछि सबिनाले राजकुमारलाई जंगलतर्फ लगेको पाइएको र सोही क्रममा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राजकुमारलाई अपहरण गरी ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएका सबैजनालाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment