
डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त भएका छन् । कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा श्रेष्ठ नियुक्त भएका हुन् ।
गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगरपालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगरपालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको हो ।
उक्त पद २ बर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकाले श्रेष्ठले अब बाँकी १ बर्ष २ महिना (अर्थात् १४ महिना )समय अवधिसम्म काम गर्नुपर्ने छ ।
श्रेष्ठले आफूलाई नियुक्ति गर्ने सबैलाई धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।
अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महानगरपालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य ) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग)भनिन्छ ।
नेपालको सिन्धुपाल्चोक चौतारा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० बर्षदेखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।
२४ वर्ष अगाडि अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकटमै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपालिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् । उनको उक्त संस्थामा २०१९-२०२१ सम्म कार्यकाल अझ रहने छ । उनले उक्त संस्थामा सन् २०१७-२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरिसकेका छन् ।
अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन् । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उपप्रमुखमा खाता खोलेका उनी दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् ।
सिटौला्पछि क्रमश: मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगरपरिषद सदस्यमा मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल निर्वाचित भए ।
अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका पाँचौ व्यक्ति हुन् ।
प्रतिक्रिया 4