
३ कात्तिक, काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले दसैँ भत्ता बापतको रकम फिर्ता गरेका छन् । सांसद खड्काले कोरोना महामारीका बेला दसैँ भत्ता लिन नसक्ने भन्दै फिर्ता गर्न संघीय संसद सचिवालयलाई भनेका हुन् । सांसद खड्काले लिखित रुपमै आग्रह गरे पछि संसद सचिवालयले प्रक्रिया अगाडि बढाएको छ ।
कोरोना महामारीका बेला भएकाले राजनीतिक रुपमा मात्रै नभई नैतिक रुपमा पनि दसैँ भत्ता लिन नमिल्ने पूर्व मन्त्री खड्काले बताए । दसैँ भत्ता दिने निर्णय पनि आफूले अनलाइनखबरमा समाचार पढेपछि मात्रै जानकारी पाएको भन्दै उनले आफूलाई भत्ता नहालिदिन भनिसकेको बताए ।
कांग्रेस सभापति देउवाले आफ्ना पार्टिका सांसदहरुलाई भत्ता नलिन निर्देशन दिएका छन् । तर सभापतिले भन्नु भन्दा पहिला नै आफूलाई भत्ता नलिने बताइसकेको खड्को भनाइ छ ।
खड्काले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा सहकारी विकास मन्त्री हुँदा पनि आफूले पाउने तलब भत्ता द्धन्द्ध पीडितलाई र मुटुरोगीको उपचारमा खर्च गर्नका लागि भन्दै शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई दिएका थिए ।
प्रतिक्रिया 4