Comments Add Comment

ट्रम्प र बाइडनको चुनावी एजेण्डा : चीन मामिलामा एकै ठाउँमा

१२ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छ । नोभेम्बर ३ मा हुन गइरहेको यो निर्वाचनले समग्र विश्वको ध्यान केन्द्रित गरेको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन चुनावी मैदानमा छन् ।

निर्वाचन कसले जित्छ भन्नेम धेरैको चासो छ किनकी उनीहरुले बोकेका मुद्धामा धेरै अन्तर छ । यद्यपि चीनको मुद्दामा भने उनीहरु एकै ठाउँमा छन् । अर्थात, जसले जितेपनि अमेरिकाको चीन नीतिमा भने धेरै फरक आउने देखिँदैन ।

ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछिको चार बर्षको अबधिमा अमेरिकाको चीनसँगको सम्बन्ध कमजोर विन्दुमा पुग्यो । तर आगामी निर्वाचन बाइडनले जिते पनि चीनप्रतिको नीतिमा भने खासै अन्तर नआउने देखिएको छ । यद्यपि निर्वाचनमा चीनले ट्रम्पलाई भन्दा बाइडनलाई रुचाएको पाइन्छ ।

अहिले चीन र अमेरिकाको बीचमा कोभिड–१९, प्रविधि, व्यापार, सुरक्षा र जासुसी, प्रविधिका विषयमा द्वन्द्व चर्केको छ । साथै, हङकङ, ताइवान नीति र सिन्चियाङ र तिब्बतका धार्मिक तथा आध्यात्मिक अल्पसंख्यकको मानव अधिकारका विषयमा पनि दुई मुलुकको बीचमा विवाद छ ।

पछिल्लो केही समययता अमेरिकामा पनि चीनविरोधी भावना बढेको छ । गत मार्च महिनामा पेउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा सहभागी दुई तिहाइले चीनको विषयमा नकारात्मक धारणा व्यक्त गरेका थिए ।

अमेरिकन इन्टरप्राइजेज इन्स्टिच्युटका डेरेक स्किसोर्स बाइडनले चीनप्रति धेरै लचिलो नीति अपनाए उनले ठूलो नोक्सानीको सामना गर्नुपर्ने बताउँछन् ।

बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक यु वान्ली भन्छन्, ‘कम्तिमा बाइडनको नीति ट्रम्पको जस्तो हास्यास्पद र भानात्मक भने हुने छैन ।’ बेइजिङको रेनमिन युनिभर्सिटीका शी यिनहोङका अनुसार डेमोक्रेट्सहरु सैन्य द्वन्द्व चाहँदैनन् । साथै उनीहरुले संकट व्यवस्थापनको क्षेत्रमा चीनसँग राम्रो समन्वय गर्नेछन् । त्यसैले चीनलाई बाइडन आएको खण्डमा केही सहयोग पुग्ने उनको भनाइ छ ।

ट्रम्प आएपछि चीनबाट आउने अधिकांश सामग्रीमाथि अमेरिकामा भन्सार शुल्क बढाइएको छ । ‘बाइडनले जिते चिनियाँ सामग्रीमा लगाइएको अतिरिक्त कर बिस्तारै हट्दै जानेछ’, युरासिया ग्रुपका माइकल हिर्सनको भनाइ छ ।

सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका सीईओ रिचार्ड फन्टेनका अनुसार बाइडनले चिनियाँ सामग्रीमा लगाइएको करमाथि पुनरावलोकन गर्नेछन् तर उनीसँग विशिष्ट योजना पनि हुनेछ ।

उनले व्यापार र प्रविधिको मामिलामा नयाँ किसिमको नीति ल्याउन सक्ने फन्टेनको भनाइ छ । अहिले ट्रम्पले अमेरिकाको भटमास र अटो खरिद बढाउन दबाब दिँदै चीनसँगको व्यापार घाटा कम गर्ने जस्तो प्रयास नगरे पनि बाइडनले बौद्धिक सम्पत्ति चोरीको सम्झौता गर्दै दुई मुलुकको समस्या सुल्झाउन सक्ने फन्टेनको बुझाइ छ ।

यस अघि बाराक ओबामाको प्रशासनले पनि मानव अधिकारको मुद्दामा चीनलाई दबाब दिएको थियो । त्यसैले बाइडन अमेरिकाको सत्तामा आए मानव अधिकारको मुद्दा झन् चर्किने सम्भावना छ ।

यद्यपि बाइडनले आगामी निर्वाचनमा जित हात पारेमा केही क्षेत्रमा भने चीनलाई फाइदा हुनेछ । बाइडन जलवायु परिवर्तन, उत्तर कोरिया, इरान र कोभिड–१९ को समस्या चीनसँगको सहकार्यमा समाधान गर्न सकिन्छ भन्ने पक्षमा छन् । त्यसैले यी कुरामा भने चीनलाई बाइडनको आगमन सुखद् हुनसक्छ ।

बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक वान्ली भने केही चिनियाँ अझै पनि ट्रम्पलाई नै रुचाउने बताउँछन् । उनकाअनुसार ट्रम्पले अमेरिकालाई गलत बाटोमा हिँडाइ चीनलाई विश्वको नेतृत्व गर्ने मौका दिइरहेको केहीको बुझाइ छ ।

मानव अधिकारको मामिलामा धेरै चासो नदिनु, नेटोका सदस्यहरुसँगको विवाद र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)जस्ता महत्वपूर्ण संस्थाबाट अलग्गिनुलाई विश्व नेतृत्वमा अमेरिकाको आत्मसमर्पणको रुपमा हेरिएको छ ।

त्यसका साथै कोभिड–१९ लाई राम्रोसँग व्यवस्थापन गर्न नसक्नु र अमेरिकामा दर्जा र वर्णको विषयमा तनाव बढ्नु चीनलाई ‘ट्रम्पको उपहार’ बन्न पुगेको केही कूटनीतिक विश्लेषकको भनाइ छ ।

स्रोतः एपी, सीएनबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment