Comments Add Comment

कथा : गाउँ कहाँ छ ?

अविनाशले कतारबाट फोन गर्यो, ‘बाबा, म घर आउने भएँ दसैंमा ।’

घनश्याम खुसी भयो । छोरो अविनाश गाउँ नआएको पनि पाँच वर्ष भइसकेको थियो । कान्छो विवेक बुहारीसहित बिर्तामोडमा थियो । बुहारी दुई जीउकी छे, यो पालि दसैंमा घर आउन सक्दैनौं भनेर समाचार पठाएको थियो ।

दसैं खल्लो हुन्छ कि भनिरहेका बेला अविनाशको फोनले घनश्यामलाई खुसी तुल्यायो ।

‘अर्को हप्ता अलिकति पैसा पठाइदिन्छु आइएमई गरेर । खसीचाहिँ अलि ठूलो ल्याइरहनू है ।’

‘खसी  पाए पो ल्याउनु गाउँमा !’

‘बाबा पनि हँसाउनुहुन्छ । याङ्मामा खसी पाइँदैन ?’

‘पाइँदैन । भन्दैछु त । बोका चैँ पाइन्छन् ।’

‘बा पनि क्या जोक हान्दिनुहुन्छ । बोका नल्याउनू है पाए पनि । मासु गन्हाउँछ । अनि घरमा अरू केके चाहिएको छ ? धेरै ल्याउन त दिँदैन । तीस किलो दिन्छ ।’

‘आफू आइज न । अरू सबै छ त घरमा ।’

‘ल ल । म आफैं विचार गरेर ल्याँउछु । अहिले राखें । खसीचाहिँ…’

अविनाशले फोन राख्यो । उसलाई थाहा थियो– घरमा के चाहियो भनेर सोध्दा बा–आमाले यो चाहियो भनेर कहिल्यै भन्दैनन् । उसले अघिल्लोचोटि आउँदा पनि उनीहरूले नभनी एउटा रेकर्ड-प्लेयर, दुईवटा कम्बल र केही लुगाफाटा ल्याएको थियो ।

गाउँमा दसैंको चहलपहल सुरु भइसकेको थियो । घनश्याम र रुक्मिणी पनि आफ्नै ढङ्गले तयारीमा लागे ।

दसैंको तयारी, कहिल्यै एकमुष्ठ नहुने । आज एउटा कुरा किनेर ल्यायो, भोलि केही छुटिरहेको अनुभव हुन्थ्यो । फेरि अर्को बान भर्यो, चाहिएको केही छुटिरहेको । अनि फेरि घटस्थापना लागेदेखि नै घनश्यामले कि बिब्ल्याँटे जाने, कि इलाम बजारै जाने र बजार भर्ने गरिरहेको थियो । आवश्यकता र विस्मरणले हरेक दिन बजार जा भन्थ्यो । तर उकालो र लामो बाटो । गोडाका जोर्नी पनि दुखिरहन्थे अचेल । डाक्टरलाई देखाउँदा भनेको थियो– गाउट्स हो । धेरै नहिँड्नू ।

तर को जाने त बजार ? रुक्मिणी नभ्याउने । त्यसैले, सकीनसकी बुढा घनश्याम आफैं जान्थ्यो बजार, तीन दिनमा एक दिन ।

घनश्याम करिब पचास वर्ष कटेको थियो होला । बाल्यकालदेखि नै हिँडिरहेको थियो ऊ यो बाटो, उकालो–ओरालो । ओरालो–उकालो । पछि ठूलो भएपछि, बिहेदान भएपछि, घरको जिम्मेवारी आफ्नो काँधमा आएपछि र रहरहरू बाध्यतामा परिणत भइसकेपछि त उसलाई यो बाटो नहिँडी धरै पाएन ।

उसले धेरै दिन तलमाथि गरेर दसैं भित्र्यायो । बाटो तलमाथि नापिरहँदा सम्झ्यो– उहिले उहिले बजारबाट ल्याउनुपर्ने चिज र ल्याउनु नपर्ने चिजको सूची आजको भन्दा बिल्कुलै फरक हुन्थ्यो ।

केरा, चिउरा, दूध, दही, घिउ, पिठो…गाउँमै पाइन्थ्यो । त्यो दिन, जुन दिन चामल, तेल, बेसार र तरकारी पनि पसलमा पाइन्छ भन्ने थाहा पायो, उसलाई संसारको एउटा नौलो आश्चर्यसँग साक्षात्कार गरेजस्तो लागेको थियो । बजारबाट ल्याउने भनेको औषधि, साबुन, नुन, चिनी, बिस्कुट, लुगाफाटा, जुत्ता–चप्पल, कापी–कलम, घडी, टर्च, ब्याटरी, रेडियो, सियो–धागो यस्तैयस्तै । सानो सूची थियो  ।

अचेल, बजार भर्न जाने भनेपछि प्रथमतः यिनै सामान उनको सूचीको शीर्ष भागमा आउने गरेका थिए । यसरी सूची लम्बिएको करिब एक दशक भएको थियो ।

घरबाट करिब आधा घण्टा ओरालो हिँडेपछि गाउँलेहरू एउटा बर–पीरल डाँडोमा पुग्थे, जहाँबाट उँधो बिब्ल्याँटेतिर जाने ओरालो निकै तलसम्म दखिन्थ्यो ।

दसैं नजिकिँदै जाँदा यो ओरालो बाटो पूर्ण रूपमा रङ्गीन देखिन्थ्यो ।

एक त पाकेर पहेँलपुर भएको धानको स्वर्णीम आभा, अथवा पाक्ने तयारीमा झुलिरहेका धानका बालाको वयस्क हरियाली, बाटाका दायाँबायाँ उभिएका घरहरूका अँँगन, करेसाबारी, अथवा छेउछाउका आलीमा फुलेको सयपत्रीको मादक सुगन्ध र आकर्षक रङ्गको खेल फरक हुन्थ्यो । र, यसका अतिरिक्त बजार भरेर घर फर्कने, अथवा देश–विदेशबाट दसैं मान्न गाउँ फर्कनेहरूका नयाँनयाँ लुगा, झोला, सुटकेस, उस्ताह, प्रेम र अलि अलि रवाफले छरेको रङमा पुलकित हुन्थ्यो यो बाटो । घर फर्कँदै गरेका आफन्त, दाजु–दिदी वा छोराछोरी हेर्न यस बरडाँडामा आइपुगेका विभिन्न वयका गाउँलेहरू धेरै तलदेखि चिनेजस्तो गर्थे आफ्नो परिवारको छाया ।

घर पुग्दासम्म यो चकलेटको पाकेट उसलाई नदी किनारमा भेटेको दर्शनढुङ्गो जस्तो लाग्यो, जसलाई घर नल्याउनू भनेर आमा भन्थिन्

जति नजिक आउँछ, त्यति नै अधीर हुन्थे । अझ नजिक, बरडाँडैमा आइपुग्दा अनुहारहरूमा घाम पोखिन्थ्यो, र वास्तवमै दसैंले गाउँ टेकेको अनुभूत गर्थे । अझ बालबालिकाहरू दसैं भित्रिएको सङ्केत गर्ने पहेँली चरीकै प्रतीक थिए ।

त्यस बरडाँडादेखि तल बिब्ल्याँटेसम्मको लामो, चिप्लो, पट्टेरलाग्दो र साँघुरो ओरालो बाटोले पनि दसैं आउँदा सामूहिकताको आभास दिन्थ्यो । उँधो झर्ने र उँभो आउने मान्छे जताततै । उनीहरूका दसैं–गफ र आपसी संवादले बाटाभरिको एकान्त झाडी, खोल्साखोल्सी, उत्तीस घारी र अम्लिसो घारी सबै बोर हुन्थे ।

लाग्थ्यो, वर्षभरि सुतेको बाटो एक्कासी उठेको छ, र वर्षभरिको अनुभव गाउँलेहरूलाई सुनाइरहेको छ ।

तर यो भयो सुदूर विगतको कुरा ।

अचेल पनि त घनश्याम यही बाटो बजार भर्न जान्छ दसैंमा ।

तर अचेल, कथा फरक छ ।

अधिकांश परिवारको नयाँ पुस्ता तराईतिर झरेको छ । बुधबारेदेखि बिर्तामोड, चारआली, काँकडभिट्टा अथवा दमकतिर । सक्नेहरू काठमाडौं नै बस्न थालेका छन् । अरू बेला उनीहरूसँग व्यस्तता छ । दसैंमा बहाना छन् । गाउँ एक्ला बाआमाको  खातामा परेको छ ।

अचेल गाउँमा: –मान्छे हिँड्छन् दसैंमा त्यही बाटो, तर थोरै । ओरालो जाने धेरै छोराका घर, छोरीका घर । उकालो आउने फाटफुट ।

–उहिले–उहिले जवानहरू उकालो हिँड्थे, बूढाबूढी गाउँमा हुन्थे । अचेल बूढाबूढी ओरालो झर्छन् । जवानहरू अन्यत्रै छन् ।

– उहिले–उहिले दसैं घरमा आउँथ्यो । अचेल दसैं परदेशमा जान्छ वा सहर जान्छ,  गाउँघरमा बाक्लो अँध्यारो पोतेर ।

–रङ्गहरू ओरालो हिँड्छन् । अनि दसैंमा एउटा सन्नाटा गाँउ पस्छ, र त्यहाँ भएका थोरै गाउँलेहरूका ओठमा विरह पोतेर जान्छ ।

–उहिले दसैं आउँदा गाउँमा मान्छेहरू खसीबोकाप्रति संवेदना दिन्थे । अचेल, खसीबोकाहरू गाउँलेहरूलाई संवेदनाको दृष्टिले हेर्छन् ।

–उहिले–उहिले गाउँमा कुद्ने गाडीमा खुट्टो टेक्ने ठाउँ हुँदैनथ्यो । अचेल, गाडी  थुप्रै छन्, तर खाली खाली कुद्छन् ।

****

यति कुरा सोचिसक्दा घनश्याम बिब्ल्याँटे बजार पुग्यो । धेरैबेर अल्मल्लिइरहन मन लागेन ।  गाडी पाउन समस्या भएन । केही मान्छेमात्रै थिए । सिट सजिलै पायो ।  केही खत्र्याकखुत्रुक किनेर घर गयो । भोलिपल्ट षष्ठी ।

अविनाश पनि घर आइपुग्यो । गाडीमै आयो । आश्चर्य कसैलाई लागेन । घरछेउको कुइनेटोमा झर्यो । अँ, काम लागिहाल्ला भनेर आएको ड्राइभरको फोन नम्बर पनि टिप्यो ।

दुई हातमा सरसामान बोकेर घरतिरको उकालो लाग्दा ऊ एक्लै थियो । छेउछाउका घरबाट पुलुक्क हेर्नेले देखे, तर आश्चर्य मानेनन् । अँ, उसलाई भने अनौठो लाग्यो । उसलाई लिन मोडसम्म कोही आएको थिएन ।

उसका पछिपछि कुद्न कुनै बालबच्चा पनि आएका थिएनन् । यसमा भने उसलाई अलिकति आश्चर्य लाग्यो । बाटैमा घेर्न आउँछन् बालबालिका भनेर एक पाकेट चकलेट हातपुगाउ घुसारेको थियो झोलामा । त्यो त्यसै रह्यो ।

घर पुग्दासम्म यो चकलेटको पाकेट उसलाई नदी किनारमा भेटेको दर्शनढुङ्गो जस्तो लाग्यो, जसलाई घर नल्याउनू भनेर आमा भन्थिन् ।

अविनाश घर पुग्यो । आमा संघारमा आइन्  र भनिन्, ‘ए, आइपुगिस् ? अनि गाडी पाइयो ?’

हातका सरसामान भुइँमा राखेर ढोगदियो, र भन्यो, ‘पाएँ । पाइँदोरै’छ ।’

आमा रुक्मिणीले प्राकृतिक खुसी व्यक्ति गरी । लामो टिकेन । अनि अलिकति कृत्रिम हाँसो पनि दिई । तेल–पानीजस्तै गरी छुट्टियो ।

‘खोई बा ?’

‘माथि मुर्चुङ्गेकहाँ गा’का छन् । भोलि पूजा गर्ने हाँस लिन ।’

‘पूजा ? भोलि ?’

‘भोलि सप्तमी होइन त ?’

अविनाशको मनमा चिसो पस्यो । तर केही भनेन ।

भित्र पस्यो । झोला राख्यो । सरसामान मिलायो, लुगा फेर्यो । हात–मुख धायो । रुक्मिणीले चिया पकाई, कालो । खायो । अनि फुत्त निस्कियो घरबाट । वरिपरि हेर्यो घुमीघुमी । गोठमा गयो । करेसामा गयो । घरअगाडि हेर्यो । पछाडि हेर्यो ।

अनि उदास मन लिएर फेरि भित्र पस्यो ।

‘आमा, खसी नल्या’को ?’

‘पाए पो ल्याउनू ! काँ–काँसमन् पुग्नुभो’ बा गोडा दुखाईदुखाई । पाइँदैन खसी । बोकै मात्रै पाइन्छन्  । बोका नल्याउनू भनेको थिस् अरे । खसी पार्ने मान्छे नै छैन गाउँमा । त्यै भर त हाँस खोज्न गए त ।’

अविनाशलाई भत्भती पोल्यो । भित्रैसम्म दुख्यो ।

ऊ फुत्त निस्कियो घरबाट । अलि पर्तिर, ठाडो बाटोछेउको कुइनेटोमा पुग्यो र लाग्यो ओरालो बिब्ल्याँटेतिर । भर्खर यही बाटो आएको ।  पहिले–पहिले हो भने मान्छेले सायद सोध्थे,

‘अहिले यही बाटो आएको होइन ? फेरि किन तुरुन्तै ओरालो ?’

तर कसैले सोधेन । सोध्न कोही आएन पनि बाटोमा ।

राति, करिब नौ बजेतिर एउटा टाटा मोबाइल रिजर्भ गरेर अविनाश एउटा खसी लिएर घर आइपुग्यो ।

‘अचम्म ! काँबड ल्याइस् ?’ रुक्मिणीले भनी ।

‘इलाम बजारै पुगेँ नि । खसी नभई केको दसैं ? मैले झन् बालाई अस्ति नै भनेको ।’

‘अनि बजारमा पाइन्छ त खसी ?’ रुक्मिणीले फेरि भनी ।

‘अचेल खसी–बजार लाग्छन्त, आमा ! काँक्काँबड ल्याका हुन्छन् ।’

गाउँको ओरालो बाटोमा कतै बच्चाले हालेका लहराका पिङ सुकेर हावामा हल्लिरहेका देखिन्थे । दसैंले बिटुल्याएर गएका घर र समयले एक्ल्याएर हिँडेका गाउँले भने कुनै वृद्धाश्रममा मोक्ष कुरेर बसेका वयोवृद्धजस्ता देखिन्थे

रुक्मिणीले जिब्रो टोकी । घनश्यामले पनि एउटा सानो हाँस ल्याएको थियो । देखायो । खासै उत्साह आएन अविनाशको अनुहारमा ।

‘अब छोड्दे पनि भो यो टिउरो । खसी नै भएपछि के गर्नु यो टिउरो’, उसले भन्यो ।

‘अँ, छोड्दिस् ! यत्ति पनि काँ पुगेर ल्याको, गोडा दुखाईदुखाई ।’

रातको खाना भयो । आफूले ल्याएका सरसामान देखायो अविनाशले । दिनुपर्ने जिम्मा दियो । एलसीडी टिभी आफैंले माझ कोठामा फिट ग¥यो । सबै बसेर केहीबेर नयाँ टिभी हेरे, अनि सुते ।

भोलिपल्ट सप्तमी । नित्य पूजापाठ सके । खसी पूजाको तयारी पनि गरे । अलि पर्तिर बारीमा केराका थाम र पात प्रयोग गरेर थान पनि बनाए । रुक्मिणीले बाबर र धूपबत्ती तयार गरी ।

‘मार त तँ हान्लास् नि !’ घनश्यामले भन्यो ।

‘म हान्दिनँ । काँ हान्छु ? अहिलेसम्म हानेको छैन । आबुई ।’

‘कसले हान्छ त ? मैले आजसम्म मार हानेको देखेको छस् ? अचेल त, मासु पनि नखाऊँजस्तो लाग्छ, मारका कुरा । कस्सम, यी हातले झिँगो पनि नमारेको पाँच वर्ष भयो ।’

‘पहिलेपहिले त हान्नुहुन्थ्यो त ?’

‘कहिले देखिस् हौ मार हानेको ? पचास वर्षको भएँ, आजसम्म कट्टी समातेको छुइनँ ।’

एकछिन हेराहेर गरे बाउछोराले ।

‘गाउँमा कोही छैनन् त ?’ अविनाशले सोध्यो ।

‘सोधीखोजी पनि पो गरिनँ । बेलुकासमम खसीको कुरै थेन । हाँस मुला त काट्लास् नि भन्ठानें ।’

अनि अविनाशले गाउँमा कोही छ कि खोज्न जान्छु भन्यो । बाउछोराले सम्भावित नाममा छलफल पनि गरे । तिनै नाम मनमा लिएर अविनाश घरबाट निस्कियो ।

यस समयलाई गाउँमा भएको दसैंको चहलपहल हेर्ने मौकाको रूपमा पनि लियो उसले ।

कल्पना थियो– मन्दिरमा घटस्थापनाकै दिनदेखि दुर्गा थापेर बसेका छन् पण्डितजी । आज सप्तमी– बिहानै फूलपाती टिप्ने शोभायात्रा निस्कने छ । गाउँका चहुरभरि बाँस गाडेर पिङ हालेका छन् लाठेहरूले ।

पिङमा पालो पर्खनेको घुइँचो देखिने छ चौरमा । सेतो र रातो माटोले मिलाएर पोतेका घर दुलहीजस्ता देखिने छन् । वर्षभरिको दुःख त विरासदमा पाएको गरिबीलाई छक्याएर गाउँलेहरू शरदको घाममा खुसी नाप्न निस्किएका छन् ।

तर त्यस्तो केही देखेन । स्कुलकै प्राङ्गणमा भएको मन्दिरमा दुर्गा थापेनछन् । कसैले अविनाशलाई भन्यो, ‘भाँडरी बाजे दमकतिर हिँडेपछि दुर्गा थाप्ने मान्छे नै छैन । याँ अचेल सराद गर्ने पुरेत त सुरुङ्गाबड आउँछन्, पूजाको कुरा ।’

केही खस आर्य र केही लिम्बूले मिलेर आफ्नै ज्ञानअनुसार निकालेका रहेछन् फूलपातीको जुलुस  । ‘दुर्गा माताको, जय !’ भनेको सुनेपछि पुलुक्क  हेर्यो । थिए होलान् बीसजना जति । बूढाबूढी र केटाकेटी ।

दुर्गा बोक्नेचाहिँ दुईचार जना अधबैंसे पनि थिए । केटाकेटी बाटो मिच्दै, खेतबारी नभनी कुदिरहेका देखिन्थे । बूढा बाआमाहरू आफैंले पनि नसुनिने गरी थपडी मार्दै, ओठमा बिना आवाजको जयगान फट्फटाइरहेका थिए, ‘दुर्गा माताको, जय !’

एकाध ठाउँमा पिङ पनि देख्यो, रूखका हाँगामा जङ्गली लहरा अथवा परालका डोरी बाँधेर केटाकेटीले हालेका ।

उदास, लिपपोत नभएका, गाह्राको माटो लडेर भुइँमा थुप्रो लागेका, भित्राका ढुङ्गा बाहिरैबाट देखिने गरी उद्रिएका, र बाहिरफेर झारले पुर्न आँटेका घर मुर्दाघरजस्ता देखिन्थे । रित्ता–रित्ता टाट्नाहरू । खाली–खाली गोठहरू ।

करिब दुई घण्टाजति घुम्यो अविनाश गाउँभरि । अनि अपराह्न घर आइपुग्यो ।

गाउँमा मार हान्ने कुनै लाठे भेटिएन । अन्ततः हाँसकै पूजा भयो । आँखा चिम्लेर, अर्कोतिर हेरेर काट्यो अविनाशले हाँस !

पकाएर खाऊँ जस्तो पनि लागेन उसलाई ।

अघिल्लो दिन आफू घर आएको गाडीलाई फोन लगायो । गाडीवालाले भन्यो, ‘माइपोखरीमा छु । एकैछिनमा आइपुग्छु ।’

एकछिनपछि आयो पनि । केही मान्छे थिए गाडीमा । अविनाश आफ्नो खसीसहित चढ्यो ।

‘हिँजो उँधैबड ल्याको होइन ? आज फेरि किन उँधै ?’

‘धम्की हान्दोरै’छ । बिरामी खसी त पुज्नु भएन नि ? साट्न हिँडेको ।’

‘ए, अनि पूजा गर्नुपर्ने होला । आइपुगिन्छ त तलबाड अर्को लेर ?’

‘पूजा गर्न हाँस छ ।’

‘त्यही त । कस्ता–कस्ता खसी ल्याउँछन् बजारमा !  गाउँमा भए कस्ता बलिया, चिल्ला हुन्थे’, कसैले भन्यो ।

‘गाउँको कुरा छोड्नु दाजु । गाउँ कहाँ छ अचेल ?’ चालकले भन्यो ।

अविनाशले खसी बिब्ल्याँटे बजारमा झार्यो । गाडी उँधो इलामतिर लाग्यो । बजारमा केही मान्छेले सोधे, ‘गाउँको हो ? कतिमा दिने ?’

ऊ भने सरासर बुच्चडकहाँ गयो र केही पैसा तिरेर खसी काट्न लगायो । बाह्र–पन्ध्र किलो खसीको मासु पोको पारेर ऊ पुनः गाडी लाग्ने ठाउँमा पुग्यो ।

साँझ घरमा रुक्मिणीले सोधी, ‘बुच्चडे त केके जातका हुन्छन् ! भो, म त खान्नँ ।’

‘तेरा जात’ घनश्यामले भन्यो र आक्रोशपूर्ण दृष्टिले हेर्यो ।

तीनजनाको जहान, बाह्र–पन्ध्र किलो खसी । घनश्याम र रुक्मिणीले पचास टेकेपछि मासुभन्दा सागपातमा मन अड्याएर बस्न थालेका थिए । दूधदहीको समय विस्मृत बन्दै गएको थियो । सक्नेहरू घिउ बजारबाट किनेर गाउँ लान्थे ।

दसैं हो, छोराको मन थाम्नकै लागि भए पनि अलिअलि मासु खाए घनश्याम र रुक्मिणीले । तर लामो समय त्यसै मासुमा मन अल्झाइरहन सकेनन् ।

टिको लगाउन कोही आएन । आफन्त थिएनन् गाउँमा ।

अविनाशले पनि एक्लै कति खानु ! आधा मासु कीराको दसैं भयो ।

****

दुई महिनापछि अविनाशले बा–आमालाई कान्छो भाइसँग मिसाइदियो बिर्तामोडमा । र आफू पुनः फर्कियो कतारतिरै ।

गाउँको ओरालो बाटोमा कतै बच्चाले हालेका लहराका पिङ सुकेर हावामा हल्लिरहेका देखिन्थे । दसैंले बिटुल्याएर गएका घर र समयले एक्ल्याएर हिँडेका गाउँले भने कुनै वृद्धाश्रममा मोक्ष कुरेर बसेका वयोवृद्धजस्ता देखिन्थे ।

(पौड्यालको  ‘त्यसपछि फुलेन गोदावरी ‘ कथासंग्रह प्रकाशित छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment