Comments Add Comment

प्रस्तावित राजदूत डा. खतिवडा भन्छन् : एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ

२७ कात्तिक, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार संसदीय सुनुवाई समितिमा उपस्थित भएका डा. खतिवडाले एमसीसीबारे आफ्नो भूमिका फेरिएको बताए । अर्थमन्त्रीका रुपमा सम्झौता संसदबाट पारित गराउन महत्वपूर्ण भूमिका खेलेको भएपनि अब परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने उनले बताए ।

साथै बुझाइको फरकपनले उठेका कतिपय कुराहरुमा बुझाउने काम गर्ने समेत खतिवडाले बताए । प्रस्तावित राजदूत डा. खतिवडाले भने, ‘म (अमेरिकी अधिकारीहरुसँग) नियमित सम्पर्कमा छु । उहाँहरुले पनि भन्नु भएको छ, यसमा स्पष्ट पार्नुपरे पारौंला । कतिपय कुरा नोटहरु एक्स्चेन्ज गरेर क्लियर गरौंला । कतिपय लेटर अफ् एक्स्चेन्जबाट मिलाउन सकिन्छ, मिलाउँला ।’

अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको भनेकाले नेपालमा उठेका विषयहरुमा छलफल गरेर समझदारी बनाउन सकिने उनले बताए । साथै युएसएआईडीको ठूलो सहयोगलाई पनि नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने डा. खतिवडाले जानकारी दिए ।

आफूविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै डा. खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताए । २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा बसेर काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुर गर्नु सामान्य भएको उनले बताए ।

डा. खतिवडाले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिमार्फत छानबिन गर्न आग्रह गरे । कर प्रणालीलगायतमा केही गलत भएको भए संसदीय समितिले छानबिन गर्न सक्ने भन्दै उनले भने, ‘कहिलेकाहीँ असल नियतले काम गर्दा गल्ती भएको हुनसक्छ । कहिले नियतै खराब भएर पनि काम गरेको हुनसक्छ । मैले गरेको कामको जवाफेहिता मैले लिन्छु । अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदिन ।’

नीतिगत रुपमा गर्नुपर्ने काममा सोचमा केही फरक परेको भएपनि असल मनसायले काम गरेको उनले बताए ।

आफूले लिएको करका नीतिहरुमा सरकारले अहिले के कारणले परिर्वतन गर्‍यो भन्ने थाहा नभएको बताए । पूर्वअर्थमन्त्री डा. खतिवडाले अघि भने, ‘पछिल्लो चरणमा विकास भएका घटनाक्रमका आधारमा परिर्वतन भएको हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment