Comments Add Comment

नेपाली भाषामा भारतीय विदेश सचिवले भने– रमाइलो लाग्यो

११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले विहीबार काठमाडौं उत्रेपछि विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिए ।

नेपाली भाषा बोल्न सक्ने भारतीय विदेश सचिवका रुपमा उनको चर्चा पहिल्यैदेखि थियो । तर, विहीबार उनले यसको प्रमाण प्रस्तुत गरे ।

आफू पहिले पनि नेपाल आएको तर विदेश सचिवका रुपमा पहिलोचोटि आएको श्रृंगलाले बताए । नेपाल आउँदा रमाइलो लागेको उनले सुनाए । ‘मैले यहाँ पहिले नै आउन चाहेको थिएँ । तर, कोभिडका कारण त्यसो गर्न सकिएन’ श्रृंगलाले भने, ‘म यहाँ आउँदा धेरै खुशी भएको छु ।’

भारतीय विदेशसचिव श्रृंगलाले आफ्नो दुई दिने भ्रमणमा मिटिङहरु धेरै नै हुने बताएका छन् । नेपाल भ्रमणको दुई दिने कार्यक्रमबारे जानकारी दिँदै नेपाली भाषामा पत्रकारहरुलाई दिएको छोटो प्रतिक्रिया यस्तो छ–

नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ । रमाइलो लाग्यो । म पहिला पनि काठमाडौं आको छु । तर, फरेन सेक्रेटरीका रुपमा प्रथम भिजिट हो मेरो । भारत र नेपाल निकटतम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी यो क्लोज फ्रेन्डसीपलाई कसरी अघि बढाउने कुरा गरौंला । आज पहिलो मिटिङ फरेन सेक्रेटरी (परराष्ट्र सचिव) सँग हुन्छ । त्यहाँदेखिन् फरेन मिनिस्टर (परराष्ट्र मन्त्री) प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ । अरु उच्च गन्यमान्यहरुसँग पनि भेट हुन्छ होला । तपाईहरुलाई प्रोग्राम थाहा छ ।

भोलि म भारत नेपाल मैत्रीको विषयमा टक (भाषण) दिन्छु । त्यो भर्चुअल हुन्छ, त्यसैले सबैको पहुँचमा हुन्छ । म गोरखा शहरमा पनि जान्छु भोलि । त्यहाँ चाहिँ भूगोल भएर हाम्रो निकै विकास सहयोग नेपालमा हामीले डाइभर्ट गरेका थियौं । गोरखामा ५० हजार घर बनाउने हाम्रो, प्रधानमन्त्री मोदीको कमिटमेन्ट थियो । ४० हजार घर बनिसकेको छ । हाम्रो फोकस एजुकेसनमा पनि छ । तीनवटा स्कुल हामीले पुनर्निर्माण गरेका छौं । त्यो चैं भोलि उदघाटन हुन्छ । र, मनाङ जिल्लामा एउटा बुद्धिस्ट गुम्बा पनि हामीले पुनर्निर्माण गरेका थियौं । त्यो पनि भोलि उदघाटन हुन्छ । निकै धेरै प्रोग्राम छ, तपाईहरुलाई सूचना दिँदै गरौंला ।

नेपाल बुझेका भारतीय कूटनीतिज्ञ

भारतको मुम्बईमा जन्मेका ५८ वर्षीय श्रृंगला विदेश सचिव बनेर पहिलोचोटि काठमाडौं आएता पनि उनले बोलेको नेपाली भाषाले नै संकेत गर्दछ कि उनी यसअघि पनि नेपालमा आवत–जावत गरेका र नेपालीहरुसँग संसर्गमा गरेका कूटनीतिज्ञ हुन् ।

भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटानको मामिलालाई हेर्ने ‘उत्तरी डिभिजन’ डेस्क छ । यो डेस्कको निर्देशकका रुपमा हर्षवद्र्धनले काम गरेका छन् ।

गत जनवरी २९ देखि भारतको विदेश सचिव बनेका श्रृंगला भारतका लागि अमेरिका र थाइल्याण्डको राजदूत बनिसकेका छन् । उनले बंगलादेशमा पनि भारतको उच्चायुक्तका रुपमा काम गरिसकेका छन् । भियतनाम, इजरायल र दक्षिण अफ्रिकामा पनि उनले कूटनीतिक सेवामा काम गरेका छन् । श्रीलंका, मालदिभ्स र म्यानमारलाई हेर्ने गरी उनले यसअघि भारतीय विदेश मन्त्रालयमा सेवा गरेका छन् ।

हक्की खेल र पर्वतारोणमा रुची राख्ने श्रृंगलाले सगरमाथा आधार शिविरका साथै हिमाञ्चल प्रदेशको फ्रेण्डसीप पिक लगायत कैयौं हिमालयको यात्राहरु गरेका छन् ।

सन् १९९६ मा उनले कैलाश मान सरोवर यात्राको सम्पर्क अधिकारीका रुपमा पनि काम गरेका थिए ।

श्रृंगला हिन्दी र अंग्रेजी भाषाका अतिरिक्त भियतनामी, फ्रेञ्च र नेपाली भाषा बोल्न सक्छन् ।

श्रृंगलाको नेपाल भ्रमण मनाङ गोरखा लगायतका जिल्लामा भारतीय प्रोजेक्टहरुको उद्घाटनमा बढी केन्द्रित रहेको प्रष्ट भएको छ । तर, नेपालको प्राथमिकतामा रहेका सीमा समस्या र इपीजीको प्रतिवेदनबारे भारतीय पक्षको रुची खासै देखिएको छैन । तर, नेपालका सरकारी अधिकारीहरुले भने सीमा समस्याबारे पनि कुरा हुने दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment