
२१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली ल्याएको छ।
कर्पोरेट पे प्रणालीका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहक (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु)ले बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिङ्ग एप मार्फत बैंकमा नगई, जुनुसुकै ठाउँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवा लिन सक्ने छन्।
उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ। साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट पे दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु बैंकको दावी छ।
बैंकले ग्राहक निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ। यो प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको दावी छ।
प्रतिक्रिया 4