
२८ मंसिर, काठमाडौं । रुसको सेनाले अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो–काराबखमा गत नोभेम्बरमा भएको युद्धविराधको सम्झौता उल्लंघन भएको बताएको छ । शनिबार रुसको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा डिसेम्बर ११ मा हाद्रुत जिल्लामा युद्धविरामको सम्झौता उल्लंघन भएको पाइएको रुसको रक्षा मन्त्रालयले बताएको छ । यद्यपि रुसले यो सम्झौता कुन पक्षले उल्लंघन गरेको हो भन्ने विषयमा भने केही बताएको छैन ।
रुसका अनुसार स्वचालित हतियारबाट दुवै पक्षले शुक्रबार एकअर्कामाथि आक्रमण गरेका थिए ।
अहिले दुई हजार रुसी शान्ति सेनाहरु उक्त क्षेत्रमा छन् । गत महिना सकिएको अर्मेनिया र अजरबैजानबीचको युद्धपछि यो क्षेत्रमा शान्ति स्थापनाको लागि अहिले रुसी सेनाहरु नागोर्नो काराबखमा छन् । त्यसअघि ६ सातासम्म अर्मेनिया र अजरबैजानबीच युद्ध चलेको थियो । जसमा दुवै पक्षका गरी पाँच हजार ६ सयभन्दा धेरैको मृत्यु भएको थियो । युद्धमा अजरबैजानले अर्मेनियाबाट केही भूभाग फिर्ता लिएको थियो । नागोर्नो काराबख आधिकारिकरुपमा अजरबैजानको भूमि मानिन्छ । तर, यो क्षेत्रमा अर्मेनियाले आफ्नो नियन्त्रण राख्दै आएको छ ।
यसअघि बिहीबार अजरबैजानले सैन्य परेडसहित नागोर्नो काराबखमा जितको खुसीयाली मनाएको थियो । जसमा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान पनि सहभागी थिए ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4