
२९ मंसिर, काठमाडौं । भक्तपुर इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । न्यौपानेका भाइ निर्मलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपछि अनुसन्धान रोकिएको थियो ।
अदालतले आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेको अनुसन्धानको सक्कल प्रतिवेदन लगेको थियो । तर, सोमबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजालासले न्यौपानेको रिट निवेदन खारेज गरेसँगै अनुसन्धानका लागि बाटो खुलेको हो ।
न्यौपानेले सर्वोच्च अदालतमा स्वामित्वको मुद्दा विचाराधीन भएको अवस्थामा सीआईबीले ठगीमा अनुसन्धान गर्न नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए । तर, न्यायाधीशद्वयले प्रहरीको पक्षमा आदेश दिएसँगै थप अनुसन्धान अघि बढाइएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई बताए ।
ठगीसँगै कीर्ते मुद्दा पनि चल्ने
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले न्यौपानेविरुद्ध ठगीसँगै कीर्ते सम्बन्धी कसुरमा पनि मुद्दा चल्ने देखिएको छ । एसपी पाण्डेका अनुसार न्यौपाने लगायतका प्रतिवादीले कलेजको विधानसमेत कीर्ते गरेको पाइएको हो ।
‘कलेजको विधान २०५१ पेस गरी नेपाल इन्जिनियरिङ कलेजले २०५५ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो, त्यस वेला पेस भएको कागजात ब्युरोले मगाएको थियो’, पाण्डेले भने, ‘पोखरा विश्वविद्यालयबाट कलेजको विधान २०५१ (संशोधनसहित २०५६) को फोटोकपी प्राप्त भएकोमा सोमा दफा ३.१ को ग (यो मुनाफा रहित उद्देश्यले स्थापना गरिएको छ) व्यहोरा हटाइ उक्त लाइन खाली राखिएको पाइएको छ ।’
यसरी न्यौपानेसहितको समूहले विधानमा कीर्ते गरेर पेस गरेको देखिएकाले कीर्ते सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाउनुपर्ने देखिएको पाण्डेले बताए । उनका अनुसार न्यौपानेसहितको समूहले विधान विपरित आफूहरुलाई लाभ पुग्ने र संस्थालाई हानी, नोसक्सानी पुर्याउने निर्णयहरु गरेर संस्थालाई ठगी गरेको देखिएको छ ।
प्रहरीले न्यौपानेलाई १० मंसिरमा पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले किटानी जाहेरी ब्युरोमा दिएका थिए ।
न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।
दुई वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।
प्रतिक्रिया 4