Comments Add Comment

पाँच महिनामा १० प्रतिशत मात्र विकास खर्च

१ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पाचौं महिना बितिसक्दा पूँजीगत (विकास) खर्चको गति भने साविकमा जस्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले यो वर्ष कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ ।

तर, आवको पाँचौ महिना (मंसिर मसान्त)सम्म पूँजीगत खर्च मात्र ३५ अर्ब ९४ करोड १७ लाख रुपैयाँ भएको छ । यो रकम कुल लक्ष्यको १०.१८ प्रतिशत मात्र हो ।

अर्थ मन्त्रालयले मंगलबार मात्र सार्वजनिक गरेको चौमासिक समीक्षामा कोरोना भाइरसको संक्रमण जारी रहेका कारण विकास निर्माणका काम प्रभावित बनेका छन् । यसको असर पूँजीगत खर्चमा परेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँचौ महिना बितिसक्दा कूल बजेट खर्च २२.२७ प्रतिशत पुगेको छ । चालु आवमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको छ । त्यसमध्ये पाँच महिनामा चालु खर्च २ खर्ब ८० अर्ब ७४ करोड २८ लाख रुपैयाँ भएको छ ।

यो रकम कुल लक्ष्यको २९.५८ प्रतिशत हो । यस अवधिमा वित्तीय व्यवस्थातर्फ ६.८१ प्रतिशत रकम खर्च भएको छ ।

राजस्व संकलन ३ खर्ब माथि

चालु आवको पहिलो पाँच महिनाको अवधिमा राजस्व संकलन भने सन्तोषजनक नै रहेको पाईएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनामा ३ खर्ब १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

चालु आवमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस अवधिमा कर राजस्वतर्फ २ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ ।

यो लक्ष्यको ३१.१७ प्रतिशत हो । गैरकर राजस्व भने १६ अर्ब ७० करोड उठेको छ । राजस्वसहित अन्य प्राप्तिसमेत कुल सकरारको आम्दानी ३ खर्ब ३१ अर्ब ८२ करोड पुगेको छ ।

मंसिर महिनामा मात्र राजस्व र आम्दानी गरी कुल ६९ अर्ब रुपैयाँ प्राप्ति गरेको छ । राजस्व संकलनमा आयकर र भन्सार महसुलको हिस्सा लक्ष्यअनुसार नै प्राप्ति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment