
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही कलाकारहरु अनुसन्धानको घेरामा परे । नायिका दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर लगायतका नाम चलेका कलाकारहरु एनसीबीको अनुसन्धानको घेरामा परेका थिए ।
सामाजिक संजालमा चर्चित नायिकाहरु नै ड्रग्सको मुद्दामा जोडिएको खबर सार्वजनिक भएसँगै उनीहरुलाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड नै चलेको थियो ।
यसले केही नायिकाहरुले बलिउडका महत्वकांक्षी चलचित्र नै छाड्नुपरेको थियो । चलचित्र ‘हिरोपन्ती २’मा नायिकाको रुपमा साराअली खानलाई लिने निर्णयमा यसको निर्माणपक्ष पुगेको थियो । सारासँग विभिन्न चरणमा छलफल पनि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
साराअली खानसँग कुरा अगाडि बढिरहेको समयमा उनी ड्रग्सको मुद्दामा फसिन् । यो मुद्दामा साराको नाम अगाडि आएपछि यसको निर्माणपक्षले तत्काल उनीसँग काम नगर्ने निर्णय गरेको थियो ।
नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्रका लागि यसको निर्माणपक्षले नायिकाको रुपमा तारा सुतरियालाई फाइनल गर्यो । चलचित्रको छायांकन दुबइमा हुँदैछ ।
साराले ड्रग्सको मुद्दामा क्लिन चिट पाइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो मुद्दाले उनलाई एउटा महत्वकांक्षी चलचित्र भने छाड्नु परेको छ ।
प्रतिक्रिया 4