
१६ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतलाई राय दिन नेपाल बार एशोसिएसनले ३ जना कानुनविद चयन गरेको छ ।
बिहीबार बसेको बारको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा चयन गरेको हो । बारका महासचिव लीलामणि पौडेलले सर्वोच्च अदालतले माग गरेअनुसार एमिकस क्युरीको रुपमा ३ जनाको नाम पठाइएको बताए ।
संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले यो विषयमा राय दिन नेपाल बार एशोसिएशनसँग ३ जना कानुनविद् एमिकस क्युरीको रुपमा माग गरेको थियो ।
कुनै महत्वपूर्ण विषयमा अदालतलाई सहयोग गर्ने गरी चयन भएका सम्बन्धित विषयका विज्ञलाई एमिकस क्युरी भनिन्छ । एमिकस क्युरीका लागि चयन भएका विज्ञले संविधान, कानुन र आफ्नो विवेक अनुसार अदालतलाई तटस्थ राय दिनेछन् ।
सर्वोच्च अदालतको उक्त इजलासले संसद विघटनविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनसँग पनि २ जना एमिकस क्युरी माग गरेको थियो । तर सर्वोच्च बारले भने एमिकस क्युरीका लागि नाम पठाएको छैन । आइतबारसम्म नाम सिफारिस गर्ने तयारी रहेको सर्वोच्च बारका सचिव सुभनराज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया 4