+
+

जुवाको खालबाट बरामद एक लाख रुपैयाँ एसपीको खल्तीमा

विकास मरहट्टा विकास मरहट्टा
२०७७ माघ ४ गते २०:०७

४ माघ, गोरखा । दसैं‌ तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ ।

दस‌ै‌ तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाएका थिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालका अनुसार जुवाको खालबाट बरामद रकम जतिसक्दो चाडो राजश्वमा दाखिला गर्नुपर्छ । ‘जुवाको खालमा बरामद गरिएको रकम तुरुन्त राजश्वमा दाखिला गर्नुपर्छ, जुवाडेलाई मुद्धा चलाउनुपर्छ, होइन भने प्रहरी अधिकारीको बदनियत देखिन्छ, त्यस्तो भएमा हामी कारवाही गर्छौं,’ उनले भने ।

दसैं तिहारको समयमा थुप्रै जुवाका खालमा प्रहरीले छापा मारेपनि असोज १ गतेदेखि मंसिर मसान्तसम्म जुवाका तीन वटा मात्र मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तर दसैं तिहारको समयमा इप्रका ठाँटीपोखरी र जौवारी मातहतको विभिन्न क्षेत्रबाट पक्राउ परेका जुवाडेहरु विरुद्ध मुद्धा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद गरिएको रकम पनि हालसम्म राजश्वमा दाखिला नभएको स्रोत बताउँछ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । बरामद भएको दुई महिनासम्म पनि आफैंले राखेको उक्त रकम अब दाखिला गर्ने उनले बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?