+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
खोप लगाएकाहरुको अपिल :

‘कोरोनाकालमा जस्तो अफवाह नफैलियोस्’

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ माघ १४ गते २१:३०

१४ माघ, काठमाडौं । बुधबार विहानै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको प्रांगण ध्वजापताकाले सिंगारिएको थियो । मञ्च पनि तयार थियो ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने तयारी भइरहँदा स्वास्थ्यकर्मी तथा अरु कर्मचारीको मुहारमा जिज्ञासा मिश्रित खुसी देखिन्थ्यो । मञ्चमा रहेका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बास्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा भने उत्साहित देखिन्थे । ऐतिहासिक दिनको साक्षी बस्न पाएका उनीहरु दंग थिए ।

१० बज्नै लाग्दा अस्पतालका निर्देशक डा. राजभण्डारी रक्तचाप जाँच गरेर खोप लगाउने ठाउँमा पुगे । डाक्टर अनुप, रुनालगायतले उनलाई पछ्याए ।

कोभिशिल्ड खोप लगाउँदै गर्दा डा. राजभण्डारीले मुस्कानसहित क्यामेरामा पोज दिए । क्रमशः अन्य स्वास्थ्यकर्मीले पनि खोप लगाए र केहीबेर आराम गरे ।

त्यसपछि डा. राजभण्डारी, बास्तोला र झा सञ्चारकर्मीहरुमाझ उपस्थित भए । अस्पतालका निर्देशक डा. राजभण्डारीले भने, ‘भ्याक्सिनसँग कोही पनि त्रसित हुन जरुरी छैन, हामीले ढुक्क भएर लगायौं, तपाईंहरु पनि लगाउनुस् ।’

कोरोना महामारी सुरुवात भएदेखि टेकु अस्पतालको कमाण्ड सम्हालेका राजभण्डारीका वर्षदिन तनावमै बिते । सीमित स्रोत र साधनका बाबजुद कोरोना महामारी नियन्त्रणमा खटिएका उनी उनी खोप लगाउन पाउँदा दंग छन् । सुरुवाती दिन सम्झिँदै उनले भने, ‘त्रासका दिनहरु सम्झिँदा सपना जस्तो लाग्छ, यति छिटो खोप आउला भन्ने कल्पना थिएन ।’

नेपालको पहिलो संक्रमित भेटिएदेखि उपचारमा खटिएका डा. अनुप पनि आजको दिन सुनौलो मान्छन् ।

कोरोनाकालमा फैलिएको अफवाह चिर्न भूमिका खेलेका उनी भन्छन्, ‘हरेक खोपले केही न केही असर गर्छ, त्यसो भयो भने गलत प्रचार नगरियोस् ।’

उनकाअनुसार १८ वर्ष उमेर नपुगेकाले खोप लगाउनुहुन्न । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीलाई पनि खोप नलगाउन उनको सुझाव छ ।

यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन । ‘अहिलेको मुख्य डर नै इन्फोडेमिक फैलिन्छ कि भन्ने हो’ डा. राजभण्डारी थप्छन्, ‘कोरोना महामारीको सुरुवातमा पनि हामी इन्फोडेमिकको चपेटामा पर्‍यौं । अहिले पनि त्यही होला कि भन्ने डर छ ।’

नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ २०७६ मा भेटिएको थियो । त्यसको ६० दिनपछि (चैत १०) मा दोस्रो संक्रमित भेटिएपछि टेकु अस्पतालमा खैलाबैला मच्चिएको थियो । उपत्यकाका अन्य अस्पतालले ज्वरो आएका बिरामीलाई समेत टेकु अस्पताल रेफर गर्न थालेपछि चिकित्सकहरु हैरान बनेका थिए ।

कोरोना संक्रमितको उपचारमा खटिएकै कारण थुप्रै स्वास्थ्यकर्मीहरुले दुर्वचन/दुव्यर्वहार सहनुपर्‍यो । भर्खरभर्खर कोरोना संक्रमित भेटिएको बेला जस्तै त्रास र अफवाह अहिले खोप आउँदा पनि दोहोरिन्छ कि भन्ने चिन्ता डा. बास्तोलालाई छ । अफवाहको कारण खोपप्रति नकारात्मक धारणा नबनोस् भन्नेमा सचेत उनी भन्छन्, ‘हाम्रो समाजमा नकारात्मक कुरा आगोझैं फैलिँदो रहेछ ।’

महामारीको समयमा इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको नेतृत्व गरेका भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे पनि महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिनेहरुलाई खोप कसरी बन्छ भन्नेबारे सूचना दिइरहेका थिए । उनको कुरा चाख मानेर सुनेका अधिकांश फ्रन्टलाइनर ढुक्क देखिएका थिए । अन्योल मान्दै प्रश्न सोध्नेहरुलाई डा. पाण्डेले ठट्यौली पारामा भनेका थिए, ‘हामी त साह्रै भाग्यमानी ! कोरोना संक्रमित पनि पहिला देख्यौं, खोप पनि पहिले नै पायौं ।’

‘भाग्यमानी हो कि के हो अलिक पछि थाहा होला’ ठट्यौली शैलीमा प्रतिक्रिया आएपछि डा. पाण्डेले भने, ‘अलिअलि साइडइफेक्ट त भात खादा पनि हुन्छ नि ।’

सञ्चार माध्यमलाई डा. पाण्डेको एक लाइन प्रतिक्रिया थियो, ‘म बुढो मान्छेलाई हिजो अस्तीसम्म संक्रमित भइएला भन्ने डर थियो । अब त्रासबाट मुक्त भइयो ।’

चिकित्सक शेर बहादुर पुन पनि खोप लगाउन आएकाहरुको जिज्ञासा शान्त पारिहेका थिए । अधिकाशंको जिज्ञासा ‘इन्पोडेमिक’ अर्थात ‘मान्छेहरु यस्तो भन्छन् नि…’ भन्ने थियो । ‘भ्याक्सिनबारे प्रश्नहरु थिए, छन् र हुन्छन् नै’ डा. पुन भन्दै थिए, ‘यस्तो प्रश्नहरु हुनु स्वाभाविक हो, तर डर मान्न जरुरी छैन ।’

खोपलाई कोरोना महामारीविरुद्ध लड्ने कवच भनेर व्याख्या गर्छन् डा. पुन । ‘यति छिटै खोप पाउनु हाम्रो अहोभाग्य हो, हामीले सरकारलाई धन्यवाद दिनुपर्छ’ महामारीकालको सबै सकस भुलेर खुसी साटिरहेका डा. पुन थप्छन्, ‘खोपबारे गलत सूचना नफैलियोस् भनेर हामी विज्ञहरु बोल्नुपर्छ ।’

चिकित्सकहरुका अनुसार खोप लगाएको ८ हप्ताभित्र शरीरमा कोरोनाविरुद्ध एण्टीबडी विकास हुन्छ । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्छ । तर खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाड्नु नहुने डा. बास्तोलाको कथन छ । महामारी नियन्त्रणको अचुक अस्त्र नै भ्याक्सिन भएको भन्दै बास्तोलाले ‘अब राज्यले अरु नागरिकलाई पनि खोप देओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?