Comments Add Comment

बादल र टोपबहादुरलाई पूर्वसभामुखको चेतावनी : जनताले गद्दारहरुको प्रतिकार गर्नेछन्

पूर्वमन्त्रीले लोपार्दै भने- ओलीको मन्त्री खान जानेहरु ला... तिम्रो मन्त्री !

१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वसहकर्मीहरुले ‘गद्दार’ एवं ‘केपी ओलीका दास’ को संज्ञा दिए ।

पूर्वसभामुख ओनसरी घर्तीले गृहमन्त्री रामबहादुर थापा बादल र मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालाई गद्दार भएर जन्मिएको भन्दै जनताले उनीहरुको प्रतिकार गर्ने बताइन् ।

नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको जनसभामा लिखित भाषण गर्दै पूर्वसभामुख घर्तीले भनिन्, ‘आजभोलि मैले सुनिरहेकी छु, हाम्रो पार्टीका केही नेता कमरेड बादल, टोपबहादुर, मणिजस्ता कमरेडहरुचाहिँ प्रतिगमनको रक्षा गर्न बालुवाटार छिर्नुभएको छ रे । कमरेडहरु, आन्दोलनको सिलसिलामा तपाईहरु गद्दार भएर जन्मनुहुन्छ भने क्रान्तिकारीहरुले तपाईहरुको प्रतिकार गर्नेछन् ।’

पूर्वसभामुख घर्तीको मन्तव्यको सारसंक्षेप-

आजभोलि मैले सुनिरहेकी छु, हाम्रो पार्टीका केही नेता कमरेड बादल, टोपबहादुर, मणिजस्ता कमरेडहरुचाहिँ प्रतिगमनको रक्षा गर्न बालुवाटार छिर्नुभएको छ रे । अनि प्रधानमन्त्री केपी शर्मा ओलीको विचार, दृष्टिकोण र कार्यशैलीको कपी गरी आफूसँगै मर्न हिँडेका कम्युनिस्ट विचार नैतिकता र निष्ठामा हुर्केका कमरेडहरुको लिलामीमा राखिएका सामानझैं, प्रतिक्रियावादीलेजस्तै भेडाबाख्राजस्ता पशुको स्तरमा झारी मोलतोल गरिरहनुभएको छ रे । विचार दृष्टिकोण छाडी व्यक्तिगत लाभ र पद प्रतिष्ठाको झूठो पुलिन्दाको वितरण गरिरहनुभएको छ रे ।

म प्रश्न गर्न चाहन्छु- कमरेडहरु, आन्दोलनको सिलसिलामा तपाईहरु गद्दार भएर जन्मनुहुन्छ भने क्रान्तिकारीहरुले तपाईहरुको प्रतिकार गर्नेछन् । प्रतिकार गर्ने छन् ।
क्रान्तिकारी योद्धाको मोलतोल गर्ने घृणित कार्य बन्द गरी आफूलाई सच्याउन अनुरोध गर्दछु । यदि आफूलाई सच्याउन सक्नुभएन भने निरंकुश दृष्टिकोण र शैली राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुराना दासहरुको एउटा भीड त पहिले नै छँदैछ, त्यसै भीडमा नयाँ दासको अर्थ रहनेछैन । तपाईहरुलाई सहीदको रगतले धिक्कार्ने छ । बेपत्ता, घाइते र हजारौं लाखौं कार्यकर्ता, जनताले दुत्कार्ने छन् ।

महाभारतको कौरव र पाण्डवको लडाइँ झैं आफ्नै भाइबन्धुसँग हामीलाई लड्न पटक्कै मन छैन । पटक्कै मन छैन । तर, आन्दोलनको उपलब्धिको रक्षा र कम्युनिस्टको लक्ष र उद्देश्य पूरा गर्न लड्नुभन्दा हामीसँग विकल्प बाँकी रहेन । आज हामी सत्यको पक्षमा, न्यायको पक्षमा धनुर्धर अर्जुनझैं आँशु झार्दै तीर चलाउन बाध्य छौं । सत्यको विजय हुन्छ, आदरणीय जनसुमदाय सत्यको विजय हुन्छ ।

त्यसबेला तपाई (ओली बादल, टोपबहादुर) हरुको कुनै अस्थित्व बाँकी रहने छैन । विचार गर्नुहोस्, तपाईहरुको कुनै अस्थित्व बाँकी रहने छैन ।

अब हामी विचार र विधि विधान भएको कम्युनिस्ष्ट पार्टी अध्यक्ष कमरेड प्रचण्ड र अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा बनाउँछौं ।

पूर्वमन्त्री चक्रपाणि खनालले भने- ला तिम्रो मन्त्री !

कार्यक्रमका अर्का वक्ता चक्रपाणि खनाल बदलेव पनि मन्त्री बादल र टोपबहादुरहरुमाथि खनिए । उनले भने, ‘हाम्रा केही साथीहरु आज मञ्च पाएँ भन्दैमा गर्जिँदै हुनुहुन्छ । जाबो एउटा प्रतिमनकारी ओलीको मन्त्री खान जानेहरु ला… तिम्रो मन्त्री ! मन्त्री खाने बेला हो यो ?’

खनालले बहालवाला पूर्वमाओवादी मन्त्रीहरुलाई लक्षित गर्दै भने, ‘साथी हो यति धेरै खरानी नघस । कम से कम ऐनामा हेर्दाखेरि आफ्नो अनुहार देखिने गरी घस । भोलि बिहान तिमीहरुले आफूले आफैंलाई चिन्ने छैनौ । तिमीहरुको इतिहास हामीले बताइदिनुपर्ने छ, तँ फलानो गाउँमा जन्मेको होस् भनेर ।’

गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वलडाकूलाई ११ दिनसम्म थुनेको घटना पनि खनालले आमसभामा सुनाए-

‘एकजना अहिलेका मन्त्रीले भनेछन्, हामी जनमुक्ति सेनालाई…. वा जनमुक्ति सेनालाई….! म एक वर्ष अगाडिको घटना यहाँहरुलाई सुनाउँन चाहन्छु । यी गृहमन्त्री अहिले पनि मन्त्री छन् । जनमुक्ति सेनाका कमरेडहरु यहाँ हुनुहुन्छ भने कान खोलेर सुन्नुस्, म पनि मन्त्री थिएँ । मन्त्रालयमा थिएँ, घाइतेहरुलाई घोक्र्याउँदै दुईजना पुलिसहरुले लिएर आए । किन ? भन्दा बादलले हामीलाई कसैलाई पनि भित्र छिर्न नदिने भन्ने निर्देशन गरेको छ भने । त्यसपछि ११ दिनसम्म घाइतेलाई थुन्ने गृहमन्त्री को हो ? च्यालेञ्ज छ बादल हो ।’

खनालले थपे, ‘जनमुक्ति सेनाका कुरा गर्ने आज ? जनमुक्ति सेना कालीबहादुर चाहिने आज ? हिजो कालीबहादुरजस्ता लाखौंलाई मुद्दा लाउनुपर्छ, जेल हाल्नुपर्छ, क्यान्टोनमेन्टको पैसा खोई भन्नेहरु आज काखी च्याप्दै हिँड्ने ? लाज लाग्छ ।’

‘ओलीजीका वरिपरि कुहिएका ठूला फर्सी’

कार्यक्रममा बोलेका अर्का नेता वर्षमान पुनले पनि बादल र टोपबहादुरहरुलाई प्रहार गर्न छुटाएनन् । उनले भने, ‘म प्रश्न गर्छु केपी ओलीजी वरिपरि बसेका बादल र टोपबहादुर कुहिएका ठूला फर्सी हुन् कि होइनन् ? यदि त्यसै हुन् भने तिनले कुहाउनेवाला छन्, ख्याल गर्नू ।’

केपी ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सी र नेताहरुलाई बाँदरको संज्ञा दिएर गाली गरेको स्मरण गर्दै पुनले अगाडि भने, ‘रामबहादुर थापा बादल र टोपबहादुरका रुपमा ओलीजीका दुईतिर ठूला ढेडू-बाँदरहरु छन् । त्यो गुट कसरी बन्ने हो ? त्यो घर कसरी बन्छ ?’

गृहमन्त्री बादलले अहिले पूर्वलडाकूको कुरो गरे पनि सविधाहरु कटौती गरेको पूर्वमन्त्री पुनले बताए । उनले भने, ‘म आफैं क्याबिनेटमा छँदा रामबहादुर थापा बादल गृहमन्त्रीलाई पूर्वपीएलएका घाइते-अपाङ्गहरुको समस्या समाधानका लागि पटक-पटक अनुरोध गरें । तर, खाईपाई आएको ६ हजार २ सयलाई पनि घटाइदिने, १२ हजार ४ सयलाई पनि घटाइदिने । थुप्रै मान्छे रुँदै हिँड्ने अवस्था बनेको थियो ।’

नेकपा प्रचण्ड-माधव समूहले बुटवलमा आयोजना गरेको शक्ति प्रदर्शनमा अन्य नेताहरु घनश्याम भुसाल, वामदेव क्षेत्री लगायतका नेताहरुले पनि बोलेका थिए । कार्यक्रममा बोल्दै भुसालले अब केपी ओलीहरु नजन्माउने खालको पार्टी निर्माण गर्ने बताए ।

कार्यक्रमलाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्वोधन गरेका थिए । यो समूहले भोलि शुक्रबार बिराटनगरमा अर्को जनसभा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment