+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

कहिलेसम्म महिलाले एसिड प्रहार सहिराख्नु पर्ने ?

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७७ फागुन २४ गते ११:३२

एसिड आक्रमण पीडित वीरगन्ज छपकैयाकी १५ वर्षीय मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल वुमन अफ करेज अवार्ड जितेकी छिन्।अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन् । यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन्।

केही समय अगाडि दीपिका पादुकोणको फिल्म ‘छपाक’ले निकै नै चर्चा बटुल्यो । मालतीको संघर्षका कथाहरु निकै नै हृदय स्पर्शी छन् । फिल्मको दौउरानमा हामी हलभित्र धेरै नै भावुक भयौं । कानुनहरु एसिड प्रहार भोग्नेहरुको पक्षमा बन्ने कुरा हेर्दा मन पनि फुरुङ्ग नै भयो।तर आजका दिनमा यथार्थ अर्कै मोड तर्फ धकेलिँदै छ।

एसिड प्रहारसम्बन्धी मुद्दालाई सरकारवादी फौजदारी मुद्दाका रुपमा हेरिए पनि घटनाहरु बढिरहेका छन्ने । नेपालमा एसिड प्रहार गरी अनुहार कुरुप पारेको खण्डमा अपराधको प्रकृति हेरि पाँच देखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको जरिमानाको व्यवस्था थियो । तर केही महिना अगाडिमात्र मन्त्रिपरिषद्ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो।

राष्ट्रपतिबाट उक्त अध्यादेश प्रमाणीकरण भएको थियो । उक्त कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय र १० लाख जरिमाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ।

सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई नि:शुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएपछि त्यसले पीडामा मलमको काम गर्ने आस त गर्न सकिन्छ तर भर गर्न सकिन्न।

तर के यो सजायलाई जन्मकैद वा मृत्युदण्ड सम्मका हदसम्म लैजादामात्र एसिड प्रहारहरु घट्दै जाने हुन त ? मलाईचाहिँ त्यस्तो लाग्दैन । समस्या हाम्रो समाजको बुझाइको आयतनमा फरक पर्छ । महिलाहरुले जे भए पनि सहेर बस्नुपर्छ भन्ने दृष्टिकोण र महिलाका लागि रुप नै सब थोक हो भन्ने सामाजिक अपव्याख्याका कारण पनि एसिड प्रहार बढिरहेको छ। आउनुहोस् यस विषयमा पनि अलिकति चर्चा गरौं।

छोरी मान्छेले सधै सहनु पर्छ भन्ने कथन किन समाजमा जरा गाडेको छ ? भन्ने कुरा को उदाहरण महाभारत कै सभापर्व अन्तर्गत रहेको द्रौपदी चीरहरण घटनाबाट समेत लिन सकिन्छ । युधिष्ठिरले जब आफ्नो सर्वस्व जुवामा हारेपछि द्रौपदीलाई समेत दाउमा लगाउनु र हारेपछि दुर्योधनले दासी बनाएर द्रौपदी लैजान पाउनु जस्ता पौराणिक इतिहास पढ्दा पनि आङ नै सिरिंग हुन्छ । पत्नी भनेको एउटा साधन हो भन्ने बुझाइलाई चरितार्थ गर्न मात्र खोजिएको बुझिन्छ।

पाँच पाण्डवका नै साझा पत्नी रहेकी सुन्दरी द्रौपदीलाई जुवामा हारेपछि रजस्वला भएको बेलामा समेत लछारी-पछारी दुर्वाच्य बोल्दै मान्यजनहरु रहेको सभामा लगेर तिरस्कार गरिनु कदापि पठनीय पनि छैन । महिलाको अस्तित्व र अस्मितामाथि नै विरोधाभास सिर्जना गरेर वेश्या जस्तै पाँच पतिका एक पत्नी हुनु नै आफैमा घोर आपत्तिजनक देखिन्छ।

धन्न कृष्ण आएर द्रौपदीलाई निवस्त्र हुनबाट जोगाए नत्र त्यत्रो सभामा दुुर्योधनले सारी तानेर द्रौपदीलाई नाङ्गो बनाउन खोज्दा निरीह भएर बसेका नीति नियमका वरिष्ठ पालकहरु लाई हेर्दा पनि थाहा हुन्छ महिलाहरुलाई सहनकर्ताको रुपमा नै इतिहासले वर्णन गरेको छ।

नत्र द्रौपदीका ती पुकारहरु,रोदनहरु र याचनाहरुको मूल्याङकन अवस्य त्यस सभाले गर्ने नै थियो । तर, लज्जित भावमा शिर निहुराएर पत्नीको अस्तित्व संकटमा पर्दासमेत केही नबोल्ने पाँच पाण्डवहरु कै कारण इतिहासले नारीका लागि न्याय गरेको छैन भन्ने कुरा स्पष्ट देखिन्छ ।

अबका महिलाहरुले यो बुझ्नु जरुरी छ कि द्रौपदीको चीरहरण हुँदा झै कृष्ण अवतार बनेर सबै हिंसाविरुद्ध अरु कोही प्रकट होलान् नहोलान् तर स्वयं आफैँ चै यस्काविरुद्ध बोल्न थाल्ने कि नथाल्ने ? अझ विस्तारमा भनौं- हिंसा नै प्रत्यक्ष भोगेपछि नै ‘एक्सन’मा जाने कि ? त्योभन्दा अगाडि नै भइराखेका गतिविधि युक्त भेदभावहरुमा चनाखो भइराख्ने ? एसिड प्रहार हिंसाको अन्तिम रुप हुन सक्छ।यसलाई बन्द गर्न हिंसा सुरुवात हुने द्वार नै बन्द गर्नु पर्छ।

आजको समाजले एउटा यौवन महिलालाई उसको पढाइ, लेखाइ, सिकाइ, बुझाइ र रोजगारीभन्दा पनि रुप नै सर्वोपरि हो भन्ने कुरा घोकाएको छ

अर्को महत्वपूर्ण कुरा, एसिड प्रहार सधैँ नारीको रुप सँग जोडिएर आएको छ । नारीहरु सधैं भोगचलनका बस्तुमात्र रहेको भान अनेक पौराणिक कथनहरुले वर्णन गर्छ । भोग्य हुनका लागि रुप नै पहिलो र एक मात्र मापदण्ड रहने गरेको बुझिन्छ।

भगवान पार्वती, राधा, सिता, लक्ष्मी आदि सबैको रुपको चर्चाहरु भेट्न सकिन्छ। कपाल, दाँत, नाक, कान, आँखादेखि वर्णसम्मको वर्णन लोभलाग्दै तरिकाले गरिएको छ।अझै राजाहरु बीच हुने युद्धको एकमात्र कारणसमेत स्त्रीको सौन्दर्य नै हुने गरेको सुन्दा अचम्म लाग्छ। आदि पर्व महाभारतमा नै ऋषि पराशरमुनि पनि सत्यवतिको सौन्दर्यमा मोहित हुँदा डुङ्गामा नै समागम गरेर व्यास पुत्र जन्माएको विषय झनै रोचक छ । आजको युगमा पनि सानै उमेरदेखि सौन्दर्य प्रतियोगिता गराएर ताज पहिराएर होस् वा गतिला भनिएका पदहरुमा सुन्दरतालाई लिएर बार्गेनिङ गराएर होस्, रुप लाई नै सर्वश्रेष्ठ मान्न बाध्य बनाइएको छ।

किन प्रेम प्रस्ताव स्वीकार नगर्दा, विवाह गर्न नमान्दा पुरुषले नारीको रुपमाथि नै आघात पुर्‍याउन खोज्छ त ? म मान्छु यो पुरुषको कार्य निकै घृणित र निन्दायोग्य छ। तर किन त्यो द्वेष लिन खोज्ने पुरुषले आफ्नो इख आफ्नो प्रस्ताव स्वीकार नगर्ने केटीले भन्दा राम्रो पढेर वा राम्रो जागिर खाएर लिन सक्दैन त ? किनकि आजको समाजले एउटा यौवन महिलालाई उसको पढाइ, लेखाइ, सिकाइ, बुझाइ र रोजगारीभन्दा पनि रुप नै सर्वोपरि हो भन्ने कुरा घोकाएको छ।

त्यो पुरुष पनि यही समाजको एएटा कुपात्र हो। र अझ त्यो पुरुषलाई राम्ररी थाहा छ जब आफ्नो प्रस्ताव स्वीकार नगर्ने केटीको रुप बिगारिन्छ ऊ यो समाजमा अवहेलनामा बाँच्नु पर्ने हुन्छ। उसको रुपनै नष्ट गरिसकेपछि उसको योग्यताले उसको न विवाह हुन्छ न सफलतापूर्ण जीवनयापन । आखिर समाजको चित्र पनि दुरुस्तै यस्तै छ।

एसिड प्रहारबाट कुरुप भएकी नारी पीएचडी होल्डर नै भए पनि कुन घरले आज सहजै बुहारीको रुपमा भित्र्याउन चाहन्छ ? जति नै साहसी नारीको उपाधि पाएर सर्वत्र रोलमोडेल भए पनि कुनचाहिँ पुरुषले आफ्नो श्रीमतीको रुपमा भित्र्याउन चाहन्छ ? हामी सबैको मनोवृत्ति उस्तै त हो नि फलानो छिमेकी र नातागोताका अघि नाकमुख देखाउन सक्दैनौं।

बाहिर बाहिर ठूला ठूला गफ हाँकेर र ‘छपाक’ फिल्म हेर्दा गोहीका आँसु बगाएर के हुन्छ र ? जबसम्म रुपलाई स्वाभिमानको दर्जा दिइराख्छौं तबसम्म अपराध गर्नेहरु पनि त्यही स्वाभिमानमा ठेस पुर्‍याउन हर सम्भव प्रयास गरिराख्छन् ।

जबसम्म पीडितले अरु नारी जस्तै सामान्य जीवनयापन गर्न सक्दिनन् र उनलाई समाजले सहर्ष स्वीकार गर्दैन तबसम्म जाबो जेल जीवन भोग्दैमा पीडकले कसरी सजाय पाएको मान्न सकिन्छ र ? पीडक त जेलमा बसेर आफ्नो द्वेष पूर्ति गर्न सकेकोमा हाँसिरहेको हुन्छ। कुनचाहिँ समाजको अभिन्न अंगले एसिड प्रहारका पीडितहरुलाई पुनर्स्थापित गर्ने हेतुले फ्रन्ट लाइनमा ल्याउँन सकेको छ ? दुईचारदिन सेलिव्रेटी बनाएर मात्र पुग्छ र ? लामो जीवनको जीवीकोपार्जनमा सबै सरोकारवालाहरुले सोच्नुपर्दैन ?

अबको लडाइँ एसिड प्रहार भए कै कारण पवित्रा कार्कीहरुलाई ‘अपवित्र’ मान्ने समाजका बोक्रे भलाद्मीहरुका विरुद्ध पनि हो। मुस्कान खातुनहरुका ‘मुस्कान’ खोस्ने कुपात्रहरुका तुच्छ मानसिकताविरुद्ध पनि हो । तत्काल एसिडले पोल्दा हुने पीडा र जीवनपर्यन्त हरेक नारीले भोग्नु परेको पीडाका अघि जुनसुकै दण्ड सजाय पनि कम हुन्छ। तर यो घटना निराकरण लागि कठोर सजाय मात्र पर्याप्त छैन। छिमेकी मुलुक र अन्य देशहरुको दृशतान्त समेत हेर्दा नारीको सौन्दर्यविरुद्ध पुरुषको अभिमान युक्त यो हतियारलाई बौद्धिक तवरले नै हल गरिनु पर्छ । चेतना अभिवृद्धि गरिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?