+
+

चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते २०:५२

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले चार* नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बालुवाटार बैठकको ठहर छ । भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

चार नेताले दिने जवाफका आधारमा अरु प्रक्रिया अगाडि बढ्ने भन्दै उनले अघि भने, ‘फागुन २३ अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, तर त्यसपछि पनि लगातार गुटबन्दी गरिरहनु कदापि क्षम्य मान्न सकिँदैन ।’

बाँकी नेताहरुको हकमा गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास राखेको उनले बताए । पार्टीको नाममा समानान्तर गतिविधि भए विधान आकर्षित हुने समेत उनले बताए ।

स्रोतका अनुसार नेतृ रामकुमारी झाँक्री*लाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । केन्द्रीय सदस्यहरुले झाँक्रीसँगै अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर ‘हाइट’ नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण नसोध्ने बताएको एक केन्द्रीय सदस्यले बताए ।

पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई

बालुवाटारको बैठकले २–६ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णयअनुसार २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ ।

अब अध्यक्ष र महासचिवबाहेक नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी रहेनन् । पदाधिकारी र स्थायी कमिटी प्रस्ताव गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

नेताहरुको कार्यविभाजनको प्रस्ताव ल्याउन विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको छ ।

बैठकले जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरित गर्न र समयै अधिवेशन गर्ने जिम्मा प्रदेश कमिटीहरुलाई दिइएको छ भने जनवर्गीय तथा पेशागत संगठनलाई पनि महाधिवेशन-राष्ट्रिय सम्मेलनतिर उन्मुख गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?