Comments Add Comment

उदयपुरगढीमा खानेपानीको हाहाकार

फाइल तस्वीर

५ वैशाख, उदयपुर । पर्यटकीयस्थलका रुपमा परिचित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।

डेढ महिनादेखि उक्त क्षेत्रमा पानी लिफ्टिङ गर्ने जेनेरेटर  बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा होमस्टे सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको बताए ।

तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र ९ किलोमिटर वैद्यनाथ खोलाबाट ट्याक्टरमा पानी बोकाएर खान बाध्य छन् । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको संख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउत भन्छिन्, ‘केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ गरेर गढीका ५० घरपरिवारलाई धाराबाट पानी वितरण गर्दै आएका हौं ।  केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।’ गढी क्षेत्रमा बिजुली आइसकेको र मेसिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने उनले दाबी गरिन् ।

गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान गर्न वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ गरेर गढी क्षेत्रसम्म पुर्‍याउन लागिएको बताए ।

गढी समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको ऐतिहासिक स्थल हो । तत्कालीन राजा पृथ्वीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको इतिहास छ ।

गढीमा एक हजार वर्ष पुरानो वरको रूख र पञ्चावती देवीको मन्दिर छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली, रामेछाप, ओखलढुंगा तथा उत्तरमा खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ ।

एक सय गन्तव्यको सूचीमध्येमा पर्ने गढी क्षेत्रका धेरै बासिन्दा खानेपानीको समस्याका कारण गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । २०६४ सालसम्म गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment