+
+

नागरिकताका विषयमा भीम रावलले फैलाएको अफवाह

सुरेश बिडारी सुरेश बिडारी
२०७८ जेठ ११ गते १७:४३

११ जेठ, वीरगञ्ज । पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे ।

पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे ।

सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेको भोलिपल्ट ट्वीट गरेका कारण रावलको टिप्पणी सोही विधेयकतिर लक्षित थियो । रावलले मंगलबार बिहान आफ्नो उक्त विवादास्पद ट्वीट हटाएका छन् । तर उक्त विषयको तरंग उनले ट्विट डिलिट गरे पनि कायमै छ ।

उनले उक्त ट्वीट डिलिट गर्दै अर्को ट्वीट गरेका छन्, त्यसमा पनि आफूले अघिल्लो ट्वीटमा त्यस्तो लेख्नु कुनै गलत कुरा होइन भन्दै वचाउ गरेका छन् ।

‘नागरिकता वितरण प्रक्रियाको बारेमा सहमति वा असहमति हुन सक्छन्, तर कुनैपनि जिम्मेवार नागरिकले अफवाह फैलाउने काम गर्नु हुँदैन । रावलले संवेदनशील विषयमा गैर जिम्मेवार र गैर संवेदनशील भएर अभिव्यक्ति दिनु दुःखदायी छ’ पत्रकार चन्द्रकिशोरले भने ।

उनले लेखेका छन्, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन, सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

पर्सामा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाले नागरिकताको प्रमाणपत्र लिनका लागि भर्नुपर्ने फारम वितरण गर्दै आएको छ । नेपाली कागजमा छापिएको एउटा फर्मको २० रुपैयाँ पर्छ । रेडक्रसको आय स्रोतका लागि पहिलेदेखि नै प्रशासनसँगकै समयन्वयमा यस्तो व्यवस्था गरिएको हो ।

रेडक्रसका कर्मचारी राजन श्रीवास्तवका अनुसार कोरोना महामारीको समयमा नागरिकताको फारम लिने आउनेको संख्या नगन्य छ । ‘प्रशासन कार्यालय अगाडीका फोटोकपी पसलहरुले पनि यहीँबाट फर्म लैजाने हो, ती पसलहरु त अहिले बन्द छन्’ उनले भने, ‘मंगलबार कार्यालयबाट एक जनाले एउटा फारम र र बुधबार एक जनाले वडा नं ३ का लागि भनेर १० वटा फारम लिएर गएका छन् ।’

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड लागेको हल्ला निराधार भएको बताए । ‘वैशाख १६ गतेदेखि नै निषेधाज्ञा जारी छ, शान्ति सुरक्षा र कोभिड नियन्त्रणको काम बाहेक अरु काम गरेका छैनौं’ उनले भने ‘यस्तो अवस्थामा नागरिकता दिने लिने कुरा सम्भव छैन ।’

पूर्व गृहमन्त्री र देशको ठूलो पार्टीको उपाध्यक्ष भइसकेको व्यक्तिले यस्ता हल्ला सुने पनि आफ्ना कार्यकर्ता र सम्बन्धित अधिकारीसँग जानकारी लिनुपर्नेमा बुझ्नै नबुझी टिप्पणी गरेको भन्दै रावलको आलोचना भइरहेको छ ।

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोर नेता रावलले संवेदनशील विषयमा गैर जिम्मेवार र गैर संवेदनशील टिप्पणी गरेको बताउँछन् ।

‘नागरिकता वितरण प्रक्रियाको बारेमा सहमति वा असहमति हुन सक्छन्, तर कुनैपनि जिम्मेवार नागरिकले अफवाह फैलाउने काम गर्नु हुँदैन । रावलले संवेदनशील विषयमा गैर जिम्मेवारी र गैर संवेदनशील भएर अभिव्यक्ति दिनु दुःखदायी छ’ उनले भने ।

कोरोना संक्रमणबाट वीरगञ्जमा दिनहुँ मानिसको मृत्यु भइरहेको छ । निषेधाज्ञाका कारण मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्केका छैनन् । जिम्मेवार नेताले यसरी अफवाह फैलाउनु गलत भएको विश्लेषक चन्द्रकिशोर बताउँछन् ।

‘अहिले समाजलाई जोड्ने बेला छ । सग्लो समाज बनाउनुपर्ने छ । कोरोनासँग ऐक्यबद्ध भएर लड्नुपर्ने समय छ’ उनले भने, ‘उहाँले त ट्वीट डिलिट गर्नुभयो ठिकै छ । १४ घण्टासम्म सामाजिक सञ्जालमा हुँदा जुन उत्तेजना फैलिएको छ, ट्वीटले गर्दा मानिसहरु आपसमा विभाजित छन् । एक अर्कालाई गाली गरिरहेका छन् । हिलो छ्यापाछ्याप गरिरहेका छन् । त्यसको क्षतिपूर्ति कसले दिन्छ ? ’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?