१५ जेठ, बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो ।
पुरानो भवनको जस्ता पाता (टिन) जीर्ण भएर छानोबाट झरेको पानी फल्स सिलिङ हुँदै आईसीयू कक्षमा चुहिन थालेको थियो । वर्षा नरोकिंदा शुक्रबारदेखि चुहिन थालेको पानीले शनिबार पनि नर्सिङ स्टेशन र आईसीयू कक्षको केही भाग जलमग्न छ । जम्मा भएको पानी कर्मचारीले बाल्टीमा उठाएर निरन्तर फ्याँकिरहनु परेको त्यहाँ कार्यररत नर्स निशा दर्जीले बताइन् ।
‘नर्सिङ स्टेशन पुरै पानीले भरिंदा काम गर्न गाह्रो भएको छ,’ उनले भनिन्, ‘आईसीयू हलको अन्तिम भागतिर पनि बेडहरु सारेर काम चलाएका छौं ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले धागो कारखानाको आईसीयू कक्षलाई केही दिनमै प्रादेशिक अस्पतालको नयाँ भवनमै सार्ने तयारी भएको बताए । ‘पानी चुहिएर यस्तो हालत देख्दादेख्दै अब यहाँ आईसीयू चलाउने कुरा हुँदैन,’ डा. खनालले भने, ‘मर्मत गर्न सकिन्छ भनेर हे¥यौं, तर नहुने देखिएपछि अस्पतालको नयाँ भवनमै सार्छौं ।’
नयाँ भवनमा २५ एचडीयू बेडको संरचना तयार छ । नयाँ भवनमा विद्युतीकरणको काम सकेर बढीमा तीन चार दिनभित्र कोरोना संक्रमित बिरामीलाई नयाँ भवनमै भर्ना गरिने उनले बताए । धागो कारखानामा अहिले १५ बेड आईसीयू, ३६ बेड एचडीयू र ४ वटा भेन्टिलेटर बेड छन् ।
वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपूर्ति प्रणालीमा समस्या आई बिरामीको उपचार नै प्रभावित हुन सक्ने जोखिम छ । बुटवल उपमहानगरपालिकाले निर्माणको काम गरेको आईसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । अस्पतालमा हाल १० जना संक्रमित उपचाररत रहेका अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
चिकित्सक र कर्मचारीहरु दुईतिर धाउनुपर्दा काम गर्न निकै गाह्रो भएकाले क्रमशः एचडीयू र भेन्टिलेटर बेड पनि अस्पतालमै सार्न उपयुक्त हुने भएकाले सोही अनुसार पहल भइरहेको डा. खनालले बताए । तर संक्रमण दर बढेको अवस्थामा भने धागो कारखानाको छानो नयाँ हालेर पनि उपचार गर्नुपर्ने अवस्थाबारे पनि सोचिएको उनले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4