Comments Add Comment

भारतले कोरोना खोप निर्यात रोकेपछि दक्षिण एसियाली मुलुकको आँखा चीनतिर

१६ जेठ, काठमाडौं । यस वर्षको फेब्रुअरी महिनामा भारतले नेपाल सहित दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गरायो ।

अनुदानमा खोप पाउनासाथ उनीहरुले खोप अभियान सन्चालन गरे । यति मात्र होइन, संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट भारतमा नै रहेका कारण दक्षिण एसियाली मुलुकले खरिदको प्रक्रिया अगाडि बढाए ।

पहिलो मात्रा सेरमले उत्पादन गरेको एष्ट्राजेनिका लगाएका कारण अधिकांश दक्षिण एशियाली मुलुकको वाध्यता दोस्रो मात्राका लागि त्यही खोप खरिद गर्नु थियो । मूल्य, तापक्रम र ढुवानीको हिसाबले दक्षिण एसियाली मुलुकलाई भारतबाट नै खोप खरिद गर्नु सहज थियो, त्यसैले उनीहरुले अन्य मुलुकबाट खोप प्राप्त गर्न त्यति पहल गरेनन् ।

अर्काे चीनको खोपलाई विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिन ढिलाइ गरेका कारण पनि यी मुुलुकले खोप खरिदमा त्यति तदारुकता देखाएनन् ।

तर, भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै भारतले पहिला अघोषित र पछि घोषित रुपमा नै निर्यात बन्द गर्‍यो । आफ्नो आवश्यकता भारतले नै पुरा गर्छ भनी ढुक्क रहेका मुलुकलाई यो ठूलो झड्का थियो । त्यसपछि दक्षिण एसियाली मुलुकले साझा समस्या भोगे- पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज कसरी उपलब्ध गराउने ?

यही समस्या अहिले नेपालले पनि भोगिरहेको छ । १३ लाख कोभिशिल्ड खोप लगाएकाहरुले ९ हप्ता वितिसक्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् । यो समस्या बंगलादेश र भुटानमा पनि देखिएको छ ।

भारतबाट तत्काल खोप आउने सम्भाबना नभएपछि खोप खरिदका लागि दक्षिण एसियाली मुलुकले चीनतर्फ आँखा लगाएका छन् ।

बंगलादेशले त चीनसँग खोप खरिदका लागि सम्झौता नै गरिसकेको छ । दि डेल्लीस्टार दैनिकका अनुसार बंगलादेशले प्रतिडोज १० डलरमा खरिदका लागि चीनसँग सम्झौता नै गरिसकेको छ ।

नेपालले पनि चीनसँग ५० लाख खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ तर अहिलेसम्म खरिद सम्झौता भने भइसकेको छैन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खोप खरिदमा अबको १० दिनमा नै ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन् ।

खरिद प्रक्रिया अगाडि बढेसँगै दक्षिण एसियाली मुलुकलाई चीनले अनुदानमा थप खोप उपलब्ध गराउन समेत गराउन थालेको छ । नेपाललाई चीनले थप १० लाख डोज अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतको परम्परागत क्षेत्र मानिएका मुलुकलाई आवश्यक परेको खोप उपलब्ध गराउन चीन अगाडि आएको देखिन्छ

चीनले श्रीलंकालाई पनि खोप उपलब्ध गराइरहेको छ । टाइम्स अफ इन्डियाका अनुसार अघिल्लो साता श्रीलंकालाई चीनले थप ५ लाख खोप अनुदानमा उपलब्ध गराएको छ । यस अगाडि मार्च महिनामा चीनले श्रीलंकालाई ६ लाख डोज उपलब्ध गराएको थियो । योसँगै श्रीलंकाले पनि चीनसँग खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
चीनले खोप उपलब्ध गराएसँगै दक्षिण एसियाली मुलुकले केही समय अवरुद्ध रहेको खोप अभियान पुनः सुरु गरेका छन् ।

दक्षिण एसियामा सबैभन्दा पहिला चिनियाँ खोप प्राप्त गर्ने मुलुक पाकिस्त्ाान हो । भारतले सबै छिमेकीलाई खोप उपलब्ध गराए पनि पाकिस्त्ाानलाई भने उपलब्ध गराएको थिएन । चीनबाट केही खोप अनुदानमा पाएपछि पाकिस्तानले चीनबाटै थप खोप खरिद गरिरहेको छ ।

यतिबेला भुटान पनि दोस्रो चरणको खोप अभियान सन्चालन गर्न खोपको खोजीमा छ । उसले भारतसँग कुराकानी गरिरहेको छ तर खोप पाउने हो वा नपाउने कुनै टुंगो छैन । उसले चीनसँग खरिदका लागि प्रक्रिया भने अगाडि बढाएको छै्रन । भुटान र चीनको बीचमा अहिलेसम्म कूटनीतिक सम्बन्ध पनि स्थापना भएको छैन ।

भारतको परम्परागत क्षेत्र मानिएका मुलुकलाई आवश्यक परेको खोप उपलब्ध गराउन चीन अगाडि आएको देखिन्छ । चीन पछिल्लो समयमा दक्षिण एसियाली मुलुकहरुसँग निरन्तर संवाद र सम्पर्कमा रहेको छ । केही हप्ता अगाडि दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसँग छलफलमा चीनले खोपको आपत्कालीन वितरणका लागि एक संयन्त्र नै निर्माण गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment